बाँके (कोहलपुर) : कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले कृषि, शिक्षा, स्वास्थ्य, ब्यापार ब्यवसाय, रोजगारी, धर्म, सँस्कृती, भौतिक पुर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।
कोहलपुर नगरपालिका वडा नम्बर १४ मा बिहीबार आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले कोहलपुर १४ बसोबास गर्ने सबै जाति, धर्म, समुदायलाई समेट्ने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाए । ‘वडा नम्बर १४ मा ठुला उद्योग धन्दाहरु छन्, उद्योग कलकारखानामा मजदुरले मात्र अवसर पाएका छौं, यो वडामा स्नातक तह पढेका धेरै भाईबहिनी हुनुहुन्छ, आगामी दिनमा योग्यता र क्षमता अनुसार उद्योगभित्र प्रशासन शाखामा रोजगारी दिलाउन म समन्वयकारी भुमिका निभाउनेछु,’ उनले भने ।
स्थानीय श्रीराम माध्यामिक बिद्यालयमा प्राविधिक धारको शैक्षिक पाठ्यक्रम निर्माण गरी प्राविधिक विषयको पढाई सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाए । यस्तै वडामा थारु, मधेसी लगायत जात जातीको पनि बसोबास रहेको भन्दै सबै जातिको धर्म, सँस्कृतीको संरक्षणमा जोड दिने बताए ।
‘गायत्री परिवार, जय गुरुदेव परिवार लगायतको धर्म र संँस्कृती संरक्षण गर्नमा सक्दो प्रयास गर्नेछौं,’ उनले भने । स्थानीय कृषि हाट बजारको स्तरोन्नती गराउन जोड दिने बताउँदै उनले कोहलपुर बजारका सबैलाई कृषि हाट बजारमा आउने वातावरण बनाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नगर उपप्रमख पदका उम्मेदवार संगिता सुवेदीले हरेक हिसाबले पछाडी परेका महिला, थारु, मधेसी, मुस्लिम, दलित, सिमान्तकृत, अपांगता ब्यक्ति, जनजातीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने बताइन् ।
आफुहरुले कृषि, शिक्षा, स्वास्थ्य, ब्यापार ब्यवसाय, रोजगारी, धर्म, सँस्कृती, भौतिक पुर्वाधार विकासलाई जोड दिने बताइन् । सो क्रममा वडा नम्बर १४ का वडाअध्यक्षका उम्मेदवार नमबहादुर आले, वडा सदस्यका उम्मेदवार लगायत कांग्रेस नेता, कार्यकर्ताको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।