बाँके (नरैनापुर) : नेपाली कांग्रेसका तर्फबाट नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मोर्यले जनताको साथ पाउने विश्वास व्यक्त गरेका छन् । नरैनापुरको वडा नम्बर १ का विभिन्न गाउँहरुमा घरदैलो गर्दै मौर्यले नरैनापुरलाई विकासको मूल प्रवाहमा ल्याउन कांग्रेसले जित्नुको विकल्प नरहेको बताए ।
'यो भन्दा अघि पनि म चुनावमा उठेको हुँ, तपाईंहरुको माया पाउँदा पनि सफल हुन सकेन, यसपटक तपाईंहरुले अझ धेरै माया र विश्वास गरेर म लगायत मेरो टिमलाई जिताउनुहुनेछ भन्ने पूर्ण विश्वासमा छु,' मतदातालाई भेट्ने क्रममा मौर्यले भने, 'यसपटक हामीलाई रोज्नुहोस्, यहाँका समस्या हामी समाधान गर्छौ ।' त्यस क्रममा मतदाताहरुले कांग्रेस नै आफूहरुको रोजाईमा रहेको प्रतिक्रिया दिएका थिए ।
मौर्य नेतृत्वको टोलीले वडा नम्बर १ का सुइया, विर्ता, मझरेटी, कट्कुइँया लगायत गाउँहरुमा घरदैलो गरेको छ । स्थानीय मौलाना सहरेयार खाँको अगुवाईमा घरदैलो गरिएको हो ।
घरदैलो कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार अतिकुन निशा खाँ, वडा नम्बर १ का अध्यक्ष पदका उम्मेदवार इसाक जोलाह, वडा सदस्यका उम्मेदवारहरु रियाज खाँ, महबुब शेष, क्षेत्रीय प्रतिनिधि रामानन्द शर्मा, क्षेत्रीय सदस्य गुरुमुरत यादव, उमेश कुमार विष्ट लगायतको सहभागिता थियो ।