नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्धिन राईले प्रतिवद्धतालाई टेकेर निर्वाचित भएपछि काम गर्नेमा जोड दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखको प्रतिवद्धता सार्वजनिक कार्यक्रमलाई शुक्रबार (आज) बेलुकी सम्बोधन गर्दै दुबै उम्मेदवारले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले आफुहरुले जनतामाझ गरेका घोषणा र प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्ने बताए ।
संविधान बचाउनका लागि पाँच दलिय गठबन्धन बनेको स्मरण गर्दै उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदमा रुख चिन्ह र उपप्रमुखमा छाता चिन्हमा मतदान गरेर दुबैलाई जिताउन अपिल गरे । दुबैले नेपालगन्जको विकासका लागि जनताको सेवक भएर काम गर्ने उनले जोड दिए ।
यस्तै नगर उप-प्रमुख पदका उम्मेदवार राईले नेपालगन्ज उपमहानगरपालिकामा एमाले र राप्रपालाई ढाल्नका निम्ति नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा पार्टीबीच संयुक्त रुपमा गठबन्धन बनेको स्पष्ट पारे । ‘बैशाख ३० गतेका दिन दुई तिहाई बहुमतका साथ यो गठबन्धन निर्वाचित हुन्छ,’ उनले भने ।
जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष सर्वनकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पुर्वमन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद मोहम्मद ईस्तियाक राई, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडिया, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायतले सम्बोधन गरेका थिए ।
प्रतिवद्धता पत्रमा शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, सँस्कृति तथा पर्यटन, भुमी तथा आवास, भौतिक पुर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांगता सम्बन्धी विषयलाई बुँदागत रुपमा समावेश गरिएको छ ।
प्रतिवद्धता पत्रमा भएका विषयलाई जनता समाजवादी पार्टी नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक हिक्मत बि.क.ले प्रस्तुत गरेका थिए ।