बाँके (राप्ती सोनारी) : राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु घरदैलोमा निस्केपछि कांग्रेसको पक्षमा माहोल तात्तिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा उनको नेतृत्वमा कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडाअध्यक्ष जितेको थियो । कांग्रेसका पुर्वजिल्ला उपसभापति समेत भईसकेका थारुको राप्ती सोनारीमा बलियो पकड छ ।
यही बैशाख ३० गते हुन लागेको निर्वाचनका लागि कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुसहित वडाअध्यक्ष र वडा सदस्यलाई जिताउन घरदैलोमा निस्केका हुन् । गाउँपालिका अध्यक्ष थारु घरदैलोमा निस्केपछि कांग्रेसको पक्षमा माहोल झनै तात्तिएको कांग्रेस राप्ती सोनारीले जनाएको छ ।
घरदैलोका क्रममा गाउँपालिका अध्यक्ष थारुले आफ्ना राजनीतिक उत्तराधिकारीका रुपमा रहेका कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउन आह्वान गरे । अध्यक्ष पदका उम्मेदवार पौडेलसँगै राप्ती सोनारी ४ मा घरदैलो गर्दै हिडेका उनले आफूले चाहँदा चाहँदै पनि पूरा गर्न नसकेका काम र योजनालाई निरन्तरता गर्नका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
‘मैले पाँच बर्षमा धेरै काम गरेको छु, सकेसम्म तपाईंहरुको चित्त बुझाउने गरी काम गरेको छु, मैले समय अभावका कारण पूरा गर्न नसकेका कामहरुको निरन्तरताका लागि पनि तप्तजी ले जित्नुपर्दछ, तपाईंहरुले उहाँ लगायत कांग्रेसका सबै उम्मेदवारलाई विजयी बनाउनुस्, राप्ती सोनारीलाई अझ विकसित र समृद्ध बनाउने कांग्रेसले नै हो,’थारुले भने ।
सो क्रममा अध्यक्षका उम्मेदवार पौडेलले राप्ती सोनारीमा विकास र समृद्धिको जग कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै बसाएको चर्चा गरे । आफ्नो नेतृत्वको टिमलाई विजयी बनाएर अझ पाँच बर्ष सेवा गर्ने मौका दिन उनले आग्रह गरे ।
घरदैलोमा कांग्रेस नेतृ संगिता कुमारी चौधरी, उपाध्यक्ष पदका उम्मेदवार मनिषा, वडाअध्यक्षका उम्मेदवार कान्छा थारु लगायतको उपस्थिती रहेको थियो ।