बाँके (खजुरा) : खजुरा गाउँपालिकामा आसन्न स्थानीय निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार मञ्जु मल्ल जनताको घरदैलोमा ब्यस्त भएकी छन् । स्थानीय निर्वाचान आउन ६ दिन बाँकी रहँदा गाउँपालिकामा जितका लागि गठबन्धनका तर्फबाट तीव्र प्रचार प्रसारसहित घरदैलोमा पुगेकी हुन् ।
स्थानीय निर्वाचन २०७४ मा दोस्रो भएको नेकपा (माओवादी केन्द्र) र तेस्रो स्थानमा आएको कांग्रेसले गठबन्धन गरेका हुन् । ‘मल्लको उम्मेदवारी बलियो हुनुमा गठबन्धनसँगै उहाँको व्यक्तिगत स्वभाव पनि हो, सरल स्वभावकी मल्ल मिलनसार र अग्रजहरुलाई दिने सम्मानले लोकप्रिय बन्दै जानु भएको छ,’ खजुराका स्थानीयले भने । चुनावी प्रचार–प्रसारका क्रममा मञ्जुले जनताका समस्यालाई प्रत्यक्ष रुपमा सोध्ने गरेकी छन् ।
‘खजुरा गाउँपालिकाको विकासका लागि सबै खजुरावासीको ठूलो सहयोग रहेको छ,’ उनले भनिन् ‘चाहे त्यो खजुरामा क्यान्सर अस्पताल बनाउन होस् वा कुनै अरु कामहरु, खजुरामा विकासका कामहरु हुँदै गर्दा विगतका जनप्रतिनिधीले कति गुणस्तरीय काम गरे भनेर नियाल्न पनि जरुरी छ, मेरो उम्मेवारी भनेको खजुरामा हुने हरेक कामलाई गुणस्तरीय बनाउनु हो ।’
गाउँपालिकामा हुने सडक पूर्वाधारदेखि सामाजिक कामलाई गुणस्तरीय बनाउन मल्लले जोड दिइन् । खजुरा सामाजिक हिसाबले विभिन्न धर्मका मानिस बसोबास भएको स्थान हो । विशेषगरी हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको खजुरामा सामाजिक सद्भाव र समावेशी तरिकाले बसोबास गरेका गाउँहरु धेरै रहेका छन् ।
उपाध्यक्षकी उम्मेदवार मल्ल खजुरामा भएका सबै धर्मका व्यक्तिहरुलाई प्रतिनिधित्व हुने उम्मेवारका रुपमा पनि परिचित छिन् । नागरिकका दुःख, पीडा, आवश्यकता, सामाजिक परिवर्तन, हक अधिकारलाई नजिकदेखि बुझेकी मल्लको खजुरा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी सार्थक देखिएको मतदाता बताउँछन् ।
आफु निर्वाचित भएपछि जनताको सेवक भएर काम गर्ने उपाध्यक्ष पदका उम्मेदवार मल्लको भनाई छ । ‘मलाई उपाध्यक्षको जिम्मेवारीमा पठाउनुस्, जनताको सेवामा सधैं सर्मपित हुन्छु,’ उनले भनिन् ।