बाँके (डुडुवा) : डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) निकै लोकप्रिय छन् । पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उनी लोकप्रिय भएका हुन् । जनताका समस्यालाई केन्द्र विन्दुमा राखेर तत्काल काम गर्ने शैलीका कारण उनी डुडुवाबासीको मनमनमा छन् ।
डुडुवामा पछिल्लो पाँच बर्षमा राम्रो काम गरेर लोकप्रिय भएका पप्पुलाई नेपाली कांग्रेसले पुनः उम्मेदवार बनाएपछि गाउँपालिकाबासी खुसी छन । राम्रो काम गर्ने नेतालाई पुनः मतदान गर्न पाउनु आफूहरुको भाग्य भएको स्थानीयको प्रतिक्रिया छ ।
मतदाताहरुलाई भेट्ने क्रममा पप्पुले आगामी पाँच बर्ष आफूले पुनः जनताको सेवक भएर काम गर्न चाहेकाले विगतका आफ्ना कामहरुको मूल्यांकन गरेर विजयी बनाउन आग्रह गर्ने गरेका छन । उपाध्यक्षकी उम्मेदवार साहिदा बानो पनि पुनः दोहोरिने उद्देश्यका साथ चुनावी मैदानमा छिन ।
अध्यक्षका उम्मेदवार पप्पु र उपाध्यक्षकी उम्मेदवार बानोसहित वडाका कांग्रेस उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगिरहेका छन् । शनिबार पनि कांग्रेस उम्मेदवारहरुले वडा नम्बर ८ हिरमिनिया क्षेत्रमा घरदैलो गरेका छन । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, कांग्रेस कार्यालय प्रमुख उमेश शर्मा सहित कांग्रेस उम्मेदवारहरुले घरदैलो गरेका हुन् ।
घरदैलोमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पप्पु, उपाध्यक्ष पदकी उम्मेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार मनोरथलाल कुर्मी र वडा सदस्यका उम्मेदवारहरू निरन्जनसिंह थापा, नुसरत अलि शेष, धिराजादेवी मौर्य र पुनमदेवी कोरी लगायत स्थानीय नेता कार्यकर्ता उपस्थित थिए ।