बाँके (नरैनापुर) : हरेक निर्वाचनमा भोट माग्ने जाने नेताले आफ्नो प्रचारबाजी मात्रै गरे । तर, जनताको पक्षमा काम गर्न सकेनन् । राज्यको मूल प्रवाहमा आउन नसकेको नरैनापुरले अहिले पनि हरेक कुराबाट ठगिएको महसुस गरिरहेको छ ।
यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्षका उम्मेदवार अतिकुन निशा खाँले अहिले जनतामाझ आफ्ना प्रतिवद्धता ब्यक्त गरिरहेका छन् । उनीहरुले जनतामाझ उधारो आश्वासन होईन, काम गरेर देखाउने वाचा गरेका छन् ।
उनीहरु जनताको घरदैलोमा पुग्दा मतदाताले विगतमा जितेर गएकाले कुनै काम गर्न नसकेको गुनासो सुनाउने गर्छन् । ‘हामीले यसअघि कांग्रेसलाई मत नहालेर गल्ती गर्यौं, हाम्रा लागि स्थानीय सरकार आएको अनुभूति नै भएन, पाँच बर्षसम्म न बाटो बनाए न विजुलीको काम पुरा गरे,’ नरैनापुर २ रोशनपुर्वामा घरदैलो गर्न पुगेका कांग्रेस उम्मेदवारलाई स्थानीयले भने, ‘अरु पार्टीलाई हेरिसक्यौं अब यसपटक हामी कांग्रेसलाई नै जिताउँछौं ।’
अध्यक्ष पदका उम्मेदवार मौर्यले आफूलाई जिताए नरैनापुरको काँचुली फेर्ने प्रतिवद्धता जनाए । ‘हामीलाई भोट दिनुस्, कांग्रेसलाई जिताउनुस्, हामी कसैलाई पनि काखापाखा नगरेर विकास र समृद्धिका लागि काम गर्छौ, तपाईंहरुको मत खेर जान दिँदनौं, हामीलाई मत दिएपछि तपाईंंहरुलाई पछुतो हुने छैन,’ मौर्यले भने । कांग्रेसका उम्मेदवारले शनिबार वडा नम्बर २ को रोशनपुर्वा, लक्ष्मणपुर, मियाँपुर्वा लगायत गाउँमा घरदैलो गरेका छन् ।