नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले कार्यकर्ता तहमा यसपटक मेयर, उपमेयर जित्नैपर्ने पक्षमा नेता कार्यकर्ताले दृढ एकता देखाएको बताएका छन् ।
कार्यकर्ताको एकता र स्वतन्त्र मतको समेत सहानुभुतीबाट आफुहरुले जित्ने उनको दाबी छ । नेपालगन्जमा एमालेलाई २०५४ सालको जित दोहोर्याउने अवसर देखेका एमालेका नेता कार्यकर्ताले यसपटक नजिते फेरी कहिल्यै जितिदैन भन्ने ठानेका छन् ।
एमालेले नेपालगन्ज उपमहानगरपालिकामा २५ वर्षअघिको जित दोहोर्याउने गरी निर्वाचन अभियान थालेको छ । २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यसयता वडाहरु बाहेक यहाँ कुनैपनि निर्वाचन जित्न सकेको छैन ।
केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति ।
‘संगठन सुदृढीकरण नै हाम्रो मुख्य शक्ति हो, अर्कोकुरा बिरोधीले जतिसुकै आरोप लगाएपनि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो, त्यो मुल्यांकन जनताले गर्दै हुनुहुन्छ, नेपालगन्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका छौं,’ कक्षपतिले भने ।
मेयर पदका उम्मेदवार मिश्र पनि चुनाव जित्ने आफ्नो बलियो आधार रहेको तर्क गर्छन् । ‘मेरो पक्षमा राम्रो माहोल बनेको छ, चुनाव हामी नै जित्छौं,’ उनले भने । कार्यकर्तामा देखिएको दृढ एकता नै चुनाव जित्ने बलियो आधार भएको मिश्रको भनाई छ ।