कोहलपुर : नेपाली कांग्रेसले कोहलपुर नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरेका व्यक्तिमा जटिल तथा दीर्घरोग देखिए नेपाल सरकारले प्रदान गर्ने ५ हजारमा अरु २ हजार थप गरेर दिने योजना अगाडी सारेको छ ।
कांग्रेसको घोषणा पत्रमा सरकारले प्रदान गर्दै आएको ५ हजारमा नगरपालिका आफैले २ हजार रुपैयाँ थपेर ७ हजार सहुलियत प्रदान गर्ने उल्लेख गरिएको छ । कोहलपुर नगरपालिकाभित्र रहेका सबै वडामा उप-स्वास्थ्य चौकी स्थापना गरी कार्यान्वयनमा ल्याइने भएको छ ।
कोहलपुर नगरपालिकामा कम्तिमा पनि २५ शैयाको नगर अस्पतालको स्थापना गरिने, नगरभित्रका स्वास्थ्य चौकीहरुको स्तर बृद्धि गरी प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा विकास गरिने, नगरभित्र बसोबास गर्ने गरिव, विपन्न, असाहय, अशक्त, अपांगता, मुक्त कमैया, सुकुम्बासी र दलित परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।
यस्तै ६० वर्ष माथिका जेष्ठ नागरिक, अपांगता, दीर्घरोगी, द्वन्द्व कालका घाइतेहरु तथा एकल महिलाका लागि व्यवस्थित स्वास्थ्य कक्षको निर्माण गरी तत्काल उपचार गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइने उल्लेख छ ।
कोहलपुर नगरपालिका-२ प्रेमनगरमा अवस्थित नगर स्वास्थ्य शाखामा हाल कार्यरत डाक्टर दरबन्दी संख्यालाई आवश्यकता अनुसार दरबन्दी थप गर्दै स्तरबृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।