नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित वडा कार्यालयले वडाबासीलाई सिफारिस दिने कार्यमा पक्षपात गरेको तथ्य सार्वजनिक भएको छ । वडा नम्बर १८ का तत्कालिन वडाअध्यक्ष दीपक बर्मा र हालका कार्यबाहक वडाअध्यक्ष बुद्धि रैदासले वडाबासीलाई प्रतिसोधका आधारमा सिफारिस दिनबाट बञ्चित गरेका हुन् । वर्मा र रैदासले सिफारिस नदिएर लामो समयदेखी अल्झाईरहेको पीडितको गुनासो छ ।
नेपालगन्ज १८ लग्दहवा निवासी ४५ वर्षीया रामप्यारी वर्माले विगत ६ महिनादेखी हालसम्म पनि वडाले मृत्यु दर्ता नाता प्रमाणित नगरेर अल्झाएको बताईन् । उनकी आमा ८० वर्षीया सिउरी कुर्मीको करिव ६ महिनाअघि कालगतिले मृत्यु भएको थियो ।
आमाको मृत्यु भएपछि मृत्यु दर्ता नाता प्रमाणितका लागि वडा कार्यालयमा जादाँ वडाअध्यक्ष वर्माले राजनीतिक प्रतिसोधका आधारमा सिफारिस दिन नमानेको र अहिलेका कार्यबाहक वडाअध्यक्ष रैदासले पनि वर्माकै ईसारामा सिफारिस रोकेको रामप्यारीले सुनाईन् ।
‘फरक पार्टीमा आस्था राखेकै कारण मलाई दिपक वर्मा र बुद्धि रैदासले सिफारिस दिएनन्,’ उनले भनिन् ‘मृत्यु दर्ता नाता प्रमाणित नहुँदा आमाको जग्गा नामसारी हुन सकेको छैन, सबै काम रोकिएको छ ।’ मृतक सिउरीका दुई छोरी मात्र छन् । रामप्यारी र मिरा सहोदर दुई बहिनी हुन् । आमाको मृत्यु पश्चात कानुनी रुपमा स्वतः अंश पाउने अधिकार भएपनि वडा कार्यालयको सिफारिस नपाउँदा सबै काम रोकिएको उनको गुनासो छ ।
सोही वडाकै तनिसा बेहनाले पनि वडा कार्यालयबाट सिफारिस नपाएको गुनासो गरिन् । वडाअध्यक्ष वर्मा र रैदासले सिफारिस नदिएर अल्झाउने काम गरेको उनको दुखेसो छ । ‘मलाई वडा कार्यालयले घरबाटो सिफारिस र नाता प्रमाणित सिफारिस दिन मानेनन्, जनतालाई सिफारिस नदिने यिनै जनप्रतिनिधी फेरी पनि अहिले चुनावमा लडेको कुरा हामी सुन्दैछौं, यो हामी सबैका लागि दुर्भाग्यको कुरा हो,’ उनले भनिन् ।
वडामा सर्बसाधारणलाई हरेक कुरामा विभेद गर्दै आएका यिनै वडाअध्यक्ष वर्मा यसपटक पुनः एमालेका तर्फबाट वडाअध्यक्ष पदमा चुनाव लडेका छन् । वर्मा यसअघि पनि पटक-पटक विवादमा परेका थिए । जनप्रतिनिधी भएपछि निस्वार्थ रुपले सबै जनताका काम समान रुपले गर्नुपर्नेमा उनले छानी छानी आफ्ना पार्टी र आफन्तलाई मात्र सेवा, सुविधा र विकास निर्माणको जिम्मा दिने गरेको आरोप छ ।
पार्टी नमिल्दा सडक कालोपत्रे रोकेको, सरसफाई कर्मचारीलाई कुटपिट गरेको, विकासका नाममा भ्रष्टाचार गरेको, वडाका काम आफन्तलाई दिएको जस्ता आरोपहरु उनीमाथी छन् । वडाको सिफारिसमा विभेद गरेको आरोप खेपेका वर्माका विवादस्पद काम र गतिविधीले गर्दा आसन्न निर्वाचनमा उनको उम्मेदवारीमाथी नै गम्भिर प्रश्न उठेको छ । यस्तै सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा उनले मुद्दा खेपिरहेका छन् ।
यिनै वर्माविरुद्ध अहिले पनि उक्त मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको छ । मुद्दा दर्ता भएपछि केही समयसम्म फरार भएका वर्मा अदालतमा २० लाख रुपैयाँ धरौटीमा रिहा भएको र अहिले पनि उनी विरुद्धको मुद्दा अदालतमा चलिरहेको सहकारी पीडितको अगुवाई गर्दै आएका वरिष्ठ अधिवक्ता विजय गुप्ता बताउँछन् । ‘जनताको पैसा ठग्ने ब्यक्ति उम्मेदवार छ, यस्ता मान्छेले जनताको अगाडी कसरी मुख देखाईरहेका होलान्,’ गुप्ताले भने ‘जनताले यसपटक आफ्नो सही विवेक प्रयोग गरेर यस्ता ब्यक्तीलाई हराउनुपर्छ ।’
आसन्न निर्वाचनमा वर्मा पुनः उम्मेदवार भएपछि अहिले वडाबासीले उनका कमी, कमजोरी र कर्तुतलाई क्रमशः बाहिर ल्याउन थालेका छन् । वडाअध्यक्ष हुँदा वर्माले पाँच वर्षसम्म वडाबासीलाई हरेक सेवा, सुविधा र विकास निर्माणको काममा पुरै विभेद गरेको यहाँका नागरिक बताउँछन् ।
सोही वडाका स्थानीय बासिन्दा विक्रम सिंह आफ्नो बुवा बलराम सिंह खत्रीको मृत्यु पश्चात सिफारिस लिन केही महिनाअघि वडा कार्यालयमा पुगेका थिए । तर, उनले पनि वडाबाट सिफारिस नै नपाएको गुनासो गरे । ‘पविारको म एक्लो छोरा हुँ, बुवाको मृत्यु भएपछि अंश दावी गर्ने अरु कोही थिएन, वडामा सिफारिस लिन जाँदा मलाई दिइएन, म कांग्रेसको जिम्मेवार कार्यकर्ता भएकै कारण सिफारिसबाट बञ्चित गरियो,’ उनले भने ।
सोही वडाकी किरण शाहीले वडा कार्यालयमा सिफारिस लिन जादाँ दुई दिनसम्म अल्झाएर दिइएको गुनासो गरिन् । ‘फर्म दर्ताका लागि वडा कार्यालयमा सिफारिस लिन गएकी थिए, तर वडा कार्यालयले मलाई सिफारिस दिन आनाकानी गर्यो, दुई दिनपछि बल्ल तल्ल सिफारिस दियो,’ उनले भनिन् ।
यस विषयमा प्रतिक्रिया लिन वर्मा र रैदासलाई सम्पर्क गर्दा दुबैको फोन उठेन । उक्त वडाका अधिकांस स्थानीयले यसपटक नयाँ उम्मेदवारलाई भोट हाल्ने बताएका छन् । उक्त वडामा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षमा मंगलप्रसाद वर्मा (सानु) चर्चामा छन् । निर्वतमान वडाअध्यक्ष वर्माको विवादास्पद छविका कारण सानुले यसपटक बाजी मार्ने वडाबासीले आंकलन गरिरहेका छन् ।