कोहलपुर : ‘निरक साहुजी’ वडावासी माझ चर्चित नाम । आसन्न स्थानीय तह निवाचनमा कोहलपुर नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षका उम्मेदवार निरकबहादुर शाही आफ्नो वडामा ‘निरक साहुजी’ का रुपमा परिचित छन् ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट वडाध्यक्ष पदका साझा उम्मेदवार बनेका शाही आसन्न स्थानीय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारका लागि चुनौतीका रुपमा उदाएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा वडा सदस्य पदमा झिनो मतले पराजित भएका शाही निरन्तर राजनितिमा सक्रिय छन् । वडामा कसैको मृत्यु भएमा दाह संस्कारका लागि आवश्यक दाउराको डुवानी निःशुल्क रुपमा गर्दै आएका शाहीले स्थानीयहरु मायाले ‘साहुजी’ भनेर बोलाउँछन् ।
शाहीसँगै एउटा ट्याक्टर छ, जसको प्रयोग दाह संस्कारका लागि आवश्यक दाउराको ढुवानीका लागि हुँदै आएको छ । दुई दशकयता उनले दाउरा ढुवानी वापत कसैसँग शुल्क लिएका छैनन् । सामाजिक ब्यक्तित्वको छवि बनाएका शाही वडाबासीको सुख–दुखका साथी समेत हुन् ।
नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षको उम्मेदवार बनेका शाहीलाई वडावासीले सम्भावित विजेताको रुपमा हेर्न थालेका छन् । सरल र शान्त स्वभावका शाही दिनहुँ घरदैलो अभियानमा ब्यस्त छन् । उनको ब्यक्तित्व र काम प्रतिको लगनशिलताका कारण उनी वडावासीको मनमा बस्न सफल भएका छन् ।
बुवा रनरुप शाही र आमा चस्मादेवी शाहीको कोखबाट अछाम जिल्लाको तुर्माखाद गाँउपालिका वडा नम्बर ५ मा २०३९ अशोज २८ गते जन्मिएका शाही कर्मशिल, लगनशील हुनुका साथै उच्च राजनीतिक÷प्रशासनिक क्षमता भएका राजनितिज्ञ हुन् ।
विशुद्ध समाजसेवीका रुपमा सक्रिय शाही सहकारीकर्मी समेत हुन् । लामो समयदेखी सहकारीमा आवद्ध रहेर काम गरेका शाहीसँग प्रशासनिक अनुभव छ । २०५६ सालमा पहिलो पटक विद्यार्थी संगठनमा आवद्ध रहेर राजनितिक यात्रा सुरु गरेका शाही २०६८ सालदेखी तत्कालीन नेकपा एकिकृत माओवादी कोहलपुर वडा नम्बर १२ कमिटीको अध्यक्ष हुँदै हालसम्म विभिन्न कमिटीको जिम्मेवारीमा रहँदै आएका छन् ।
हाल उनी नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरपालिका १२ नम्बर वडा कमिटीका अध्यक्ष हुन् । समाजसेवीका रुपमा सक्रिय शाही राजनीतिमार्फत समाजसेवा गर्ने उद्धेश्यले वडाध्यक्षको उम्मेदवार बनेको बताउँछन् ।