बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस प्रति जनलहर बढ्दै गएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडामा कांग्रेसकाउम्मेदवारले घरदैलो गरिरहेका छन् । घर दैलोबाट उत्साहजनक प्रतिक्रिया आएको छ । जसले प्रमुख, उप्रमुख, वडाअध्यक्ष तथा वडा सदस्यका कांग्रेस तर्फका उम्मेदवारमा उत्साह थपिएको छ, भने मतदाताहरुमा पनि कांग्रेसप्रति विश्वास बढको छ । कोहलपुरको चुनावी माहोल, चुनाव जित्न कांग्रेसको तयारी लगायत विविध विषयमा रहेर कांग्रेसका महाधिवेशन प्रतिनिधी भानुभक्त भट्टराईसँग गरिएको संवाद :-
चुनावी घरदैलोमा तपाई पनि उम्मेदवारसँगै पुगिरहनु भएको छ, कोहलपुरमा कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनु भएको छ ?
कांग्रेसप्रति जनलहर एकदमै राम्रो रहेको छ । नेकपा एमालेले ५ बर्ष बहुमत पाउँदा पनि महसुस गर्ने गरी विकासको गति अगाडि बढाउन सकेन् । कोहलपुरमा स्थानीय तहमा ३० बर्षसम्म नेकपा एमालेले एकलौटी रुपमा काम गर्यो, तर उपलब्धी मूलक काम हुन नसकेकोले जनताको भरोसा अब कांग्रेसमा आईपुगेको छ । नेकपा एमालेले अहिले सम्म हेरिने, सुनिने र देखिने गरी कुनै काम नगरेकोले कांग्रेसको आवश्यकता महसुस कोहलपुरका जनताले गरेका छन् ।
यहाँ कांग्रेसले गठबन्धन किन गर्न सकेन ?
कोहलपुरमा कांग्रेसको जनलहर एकदमै राम्रो छ । कोहलपुरमा कांग्रेसको मेयरको दाबी थियो, तर उपमेयर बाहेक अरुमा गठबन्धनले सहमति नजनाएपछि कांग्रेस एक्लै लड्न तयार भयो । कांग्रेस सक्षम भएकाले कोहलपुरमा एक्लै लडेका हौं । त्यसकारण हामी विजयी हुने संभावना छ र हामीले गठबन्धन गरेनौं ।
कोहलपुरको निर्वाचनलाई कसरी हेरिरहनु भएको छ ?
कोहलपुरको निर्वाचन सबैको एकतामा अगाडी बढेको छ । कांग्रेस प्रतिको धारणा एकदमै सकारात्मक रहेको छ । कोहलपुरको नगर प्रमुखमा पुर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी सक्षम भएकाले जनताले आर्शिवाद र शुभेच्छा प्रकट गरिरहनु भएको छ ।
कोहलपुरको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?
योग्यताको हिसाबले कुरा गर्दा हाम्रा दुबै जना उम्मेदवार स्नाकोत्तर तह उत्तिर्ण गर्नु भएको छ । शैक्षिक तथा व्यवहारिक रुपमा नै उहाँहरु परिपक्क हुनुहुन्छ । उहाँको व्यक्तित्व र नेतृत्व क्षमता पनि सक्षम छ । उहाँहरु विकासको परिकल्पना गर्न सक्ने खालको हुनु हुन्छ । जसले गर्दा हाम्रा उम्मेदवार अहिले सबैको आँखामा भिज्नु भएको छ । अनि सबैको मनमा बस्नु भएको छ ।
कोहलपुरमा कांग्रेसलाई जनताले भोट किन दिने ?
कोहलपुरमा ३० बर्षदेखि नेकपा एमालले जिम्मेवारी पाएर पनि केही गर्न सकेन । लामो समय पछि स्थानीय तहको जिम्मेवारी पाउँदा पनि ५ बर्षे कार्यकालमा एमालेले केही गर्न सकेन् । जनताले दिएको बहुमतलाई बेवास्ता गरेर सेवा र सुविधा जनतालाई दिनेभन्दा पनि आफै बिलासीपूर्ण जीवन जिउन तिर लाग्यो । जनताहरुले व्यापक विरोध गरे । यस्तो अवस्थामा अबको नेतृत्वको जिम्मा नेपाली कांग्रेसलाई दिनुपर्छ । जुन कुरा कोहलपुर क्षेत्रका जनताले महसुस गरिरहेका छन् ।
नगर प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवारले जित्नु भयो, भने कोहलपुरका लागि मुख्य रुपमा के काम गर्न आवश्यक छ ?
कोहलपुरमा कांग्रेस उम्मेदवारले जितेमा नापी नभएका जनतालाई जग्गाको लालपुर्जा वितरण गर्ने काम हुन्छ । मसानघाट बनाउने, पर्यापर्यटनको विकास गर्ने, धार्मिक क्षेत्रको विकास गर्ने, स्वास्थ्य, शिक्षा र पुर्वाधार विकासमा नेपाली कांग्रेसले प्राथमिकता दिएर काम गर्न आवश्यक छ ।