नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले जनताको पैसा ठग्ने ब्यक्तिलाई निर्वाचनमा राम्ररी पहिचान गर्न मतदातालाई आग्रह गरेका छन् । सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जका १४ हजार निक्षेपकर्ताको ५१ करोड बढी रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई राप्रपा र नेकपा एमालेले उम्मेदवार बनाएपछि पीडितहरुले अहिले बिरोधमा छन् ।
आफुलाई भेट्न आएका सहकारी पीडितसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बाल्मिकीले अपराधमा मुछिएका ब्यक्तिलाई उम्मेदवार बनाएर पीडितमाथी झनै अन्याय गरेको बताए । ‘अपराधमा मुद्दा खेपिरहेका ब्यक्तिलाई उम्मेदवार बनाएर राप्रपा र एमालेले ठुलो गल्ती गरेका छन्, अब जनताले बैशाख ३० गतेका दिन त्यसको फैसला गर्नुपर्छ,’ उनले भने । सहकारी पीडितलाई न्याय दिलाउन नेपाली कांग्रेस साथमा रहेको केन्द्रीय सदस्य बाल्मिकीले बताए ।
मुद्दा फैसला हुने वित्तिकै जनताको रकम ठग्ने ब्यक्तिहरु जेल जाने निश्चित रहेको र त्यस्ता ब्यक्तिलाई यो निर्वाचनमा भोट हालेर खेरा नफाल्न मतदातालाई उनले आग्रह गरे । निक्षेपकर्ताको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका सहकारीका तत्कालिन अध्यक्ष हरदेवबक्स चौधरीलाई राप्रपाले नेपालगन्ज १४ मा वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।
यस्तै सोही मुद्दाका अभियुक्त एवम् सहकारी संस्थाका उपाध्यक्ष रविन्द्र थापालाई राप्रपाले नै वडा नम्बर ६ मा वडाअध्यक्षको उम्मेदवार बनाएको छ । यि दुबैलाई राप्रपाका महामन्त्री धवलसम्शेर राणाले उम्मेदवार बनाएका हुन् । अपराधिक पृष्ठभुमीका ब्यक्तिलाई उम्मेदवार बनाएपछि यतिखेर राणा विवादमा तानिएका छन् ।
यस्तै सोही सहकारीको रकम अपचलन मुद्दा खेपिरहेका दीपककुमार वर्मालाई नेपालगन्ज १८ मा र बैंकबाट कालोसुची तथा सहकारीको रकम अपचलन मुद्दा खेपिरहेका अजयकुमार पाठकलाई वडा नम्बर १७ मा नेकपा एमालेले वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि पाठकको उम्मेदवारी रद्ध भइसकेको छ, भने वर्मा अझैपनि वडा नम्बर १८ मा प्रचार प्रचारमा ब्यस्त छन्् । सहकारी अपचलन मुद्दामा उनीहरु चारै जना धरौटी बुझाएर रिहा भएका थिए । तर, मुद्दा अहिले पनि बाँके जिल्ला अदालतमा चलिरहेको छ ।
यो पनि पढ्नुस् :
सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध