नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मतदान गर्न कांग्रेसका अगुवा नेताहरुले मतदातालाई आब्हान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा मतदाता भेटघाटका क्रममा मंगलबार बेलुका आयोजित कोण सभालाई सम्बोधन गर्दै कांग्रेसका अगुवा नेताहरुले यस्तो आब्हान गरेका हुन् ।
उक्त वडाको विभिन्न ठाउँमा आयोजित कोण सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निर्वतमान जिल्ला सभापति किरण कोईराला, प्रतिनिधी सभाका सांसद सर्वतआरा खानम, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनीहरुले नेपाली कांग्रेसले नेतृत्व गरेपछि मात्र नेपालगन्ज उपमहानगरपालिकामा विकासले फड्को मार्ने भएकाले प्रमुख पदमा प्रशान्त विष्टलाई रुख चिन्ह र उपप्रमुख पदमा कमरुद्धिन राईलाई छाता चुनाव चिन्हमा आफ्नो अमुल्य मतदान गर्न नगरबासीलाई आग्रह गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बाल्मिकीले नगर प्रमुखमा निर्वाचित भएपछि प्रशान्त विष्टले नेपालगन्जको विकास र समृद्धिका लागि नेतृत्वदायी भुमिका निभाउने बताए ।
यस्तै लुम्बिनी प्रदेशका वन मन्त्री हमालले नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राई दुबै जना युवा र पढेलेखेको ब्यक्ति भएकाले काम गर्न सक्ने क्षमता भएको बताए । कांग्रेस बाँकेका सभापति गौडेलले कांग्रेससहित गठबन्धनका तर्फबाट प्रशान्त विष्ट र कमरुद्धिन राईलाई रुख तथा छातामा र वडाअध्यक्षका उम्मेदवार डा. पंकजकुमार गुप्तासहित वडा सदस्यका सबै उम्मेदवारलाई रुख चिन्हमा मतदान गर्न अपिल गरे ।
कांग्रेसको जित भइसकेको र अब दुई दिनसम्म अझ मेहेनत गरेर विजयी घोषित हुन आग्रह गरे । यसैगरी कांग्रेस बाँकेका निर्वतमान जिल्ला सभापति कोईराला, प्रतिनिधी सभाका सांसद सर्वतआरा, लुम्बिनी प्रदेशका सांसद अन्सारी, क्षेत्र नम्बर २ का सभापति गुप्ता लगायत नेताले जनतालाई विकास चाहिएको र विकासका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे ।
सो क्रममा बोल्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले पाँच वर्षका लागि नेपालगन्जको विकास गर्न र जनताका दुःख, पीडा, समस्यामा साथ दिनका लागि यसपटक आफुलाई नेपालगन्जबासीले अमुल्य मदतान गरी विजयी गराउने कुरामा आफु विश्वस्त रहेको बताए ।
‘म सम्पूर्ण मतदाता ज्युहरुलाई अपिल गर्न चाहन्छु, मलाई आफ्नै भाई, भतिज, छोरा, नाति सम्झेर मतदान गर्नुहोला, म तपाईहरुको मतको कदर गर्नेछु, हामीलाई मतदान गरेर तपाईहरु पछुताउनुपर्ने छैन,’ विष्टले भने ‘नगर प्रमुख पदमा रुख चिन्ह र उपप्रमुख पदमा छाता चिन्हमा मतदान गर्नुहुन म विशेष अनुरोध गर्दछु ।’ नगर प्रमुख पदका उम्मेदवार मंगलबार नै स्थानीय महेन्द्र पार्क लगायत विभिन्न स्थानमा दिनभर भेटघाटमा ब्यस्त भएका छन ।