नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले मतदातालाई सार्वजनिक रुपमा अपील गरेका छन् । मौन अवधि सुरु हुनुभन्दा केहीबेर अघि एक अपील सार्वजनिक गर्दै दुबै उम्मेदवारले नेपालगन्जबासीको आर्शिवाद र अमूल्य भोटको कदापी अवमूल्यन हुन नदिने प्रण गरेका हुन् ।
मतदाताको विश्वास र भरोसामाथि कहिल्यै कुठाराघात हुन नदिने उक्त अपीलमा उल्लेख छ । नेपालगन्ज सहरको समग्र विकासका लागि आफूहरुलाई समर्पित गर्ने प्रण गरि उम्मेदवार बनेको उल्लेख गर्दै दुबै जनाले नेपालगन्ज शहरको ऐतिहासिक र मौलिक पहिचान जोगाउँदै विकासको शिखरमा पुर्याउने आफुहरुको प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् । ‘हामीले झुठो आश्वासन र पूरा नहुने सपना बाँडेका छैनौं, समग्रमा यो शहरको काँचुली फेर्ने हाम्रो दृढ संकल्प छ, जुन हामीले संकल्पपत्र मार्फत सार्वजनिक गरिसकेका छौं,’ उक्त अपीलमा भनिएको छ ।
‘नेपालगन्जको भावी नेतृत्वका लागि यहाँहरुको अमूल्य भोट र आर्शिवाद माग्दै यहाँहरुकै घरदैलोमा पुग्ने हाम्रो प्रयास रह्यो, तथापी छोटो समयका कारण कतिपय घरहरुमा हामी पुग्न सकेनौं, यसका लागि हामी सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदी बहिनीहरुसँग क्षमा माग्दछौं, यहाँहरुको अमूल्य भोट र आर्शिवाद प्राप्त हुने विश्वास गरेका छौं,’ दुबै उम्मेदवारले भनेका छन् ।
नेपालगन्ज शहरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचानलाई जर्गेना गर्दै विकासका दृष्टिकोणले नेपालकै अग्रणी शहर बनाउने प्रतिबद्धता पुनः दोहोर्याइएको छ । मुलुकको कुनैपनि स्थानमा जाँदा प्रत्येक नगरबासीले ‘म नेपालगन्जबासी हुँ’ भनेर गर्वका साथशीर ठाडो गरेर हिँड्न सक्ने बनाउने अपीलमार्फत दृढ संकल्प गरिएको छ ।
घर दैलोका दौरान आफुहरुलाई प्राप्त आर्शिवादले मनोबल अझ उच्च बनेको विष्ट र राईले उल्लेख गरेका छन् । अपीलमा अगाडी लेखिएको छ, ‘यहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छौं, अब केही समयपछि मौन अवधि सुरु हुदैँछ, यस अवधिमा पनि रत्तिभर विचलित नभई गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी बनाउनुहुनेछ, भन्ने विश्वासका साथ हार्दिक अनुरोध गर्दछौं ।’