नेपालगन्ज : देशभर एकैसाथ शुक्रबार (भोली) स्थानीय तहको निर्वाचन अन्र्तगत मतदान हुदैछ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीहरु सबै स्थानीय निकाय तथा मतदान स्थलमा परिचालन भइसकेका छन् ।
मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा बाँडिएको छ । अति संवेदनशील मतदानस्थलमा कम्तिमा ३ जना नेपाल प्रहरी र ८ जना म्यादी प्रहरी, संवेदनशीलमा ३ जना नेपाल प्रहरी र ६ जना म्यादी प्रहरी तथा कम संवेदनशीलमा तीन जना नेपाल प्रहरी र ५ जना म्यादी प्रहरी हुनेछन् ।
मत पेटिकाको संख्या अनुसार हरेकमा एक जना प्रहरी र दुई जना म्यादी प्रहरी थपिँदै जानेछन् । प्रत्येक मतपेटिका नजिकै एक जना नेपाल प्रहरी र दुई जना म्यादी प्रहरी हुनेछन् । मतदानस्थल भित्रको सुरक्षा कमान्ड नेपाल प्रहरीका जुनियर अफिसरले गर्नेछन् । मतदानस्थल भित्र खटिने नेपाल प्रहरीका तीनैजना कर्मचारीसँग हतियार हुनेछ ।
मतदानस्थलको सुरक्षा चुनौती अनुसार नेपाली सेना बढीमा ३० मिनेटभित्र त्यहाँ आइपुग्ने गरी सुरक्षा व्यवस्थापन गरिएको छ । थप जनशक्तिका लागि हेलिकप्टरलाई पनि तयारी अवस्थामा राखिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार मतदान स्थलमा गोली चलाउनुपर्ने अवस्थालाई अन्तिम विकल्पका रुपमा लिइएको छ । ‘भीड नियन्त्रणका लागि विभिन्न उपायहरु हुन्छन् । गोली चलाउने विकल्प अन्तिम हो,’ उनले भने ।
स्थानीय प्रशासन ऐन अनुसार भीड नियन्त्रणका क्रममा गोली हान्ने आदेश प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था छ । तर, निर्वाचन सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीले मोबाइल अफिसरलाई उक्त अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था रहेको गृह प्रवक्ता पोखरेलले बताए ।
‘भरसक हरेक स्थानीय तहमा एक जना उपसचिव स्तरका मोबाइल अफिसर रहेका छन् । सुरक्षा व्यवस्थापनका लागि आदेश दिन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीले मोबाइल अफिसरलाई दिने व्यवस्था गरिएको छ । मोबाइल अफिसरले साथमा रहेका अन्य सुरक्षा कमान्डरहरुसँग निर्णय गरेर उक्त आदेश दिन सक्छन,’ पोखरेलले भने ।