नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पुर्वपश्चिम राजमार्गमा केहीदिन यता पाटेबाघको विगविगी बढेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभरमा पाटेबाघको विगविगी बढेको हो ।
बाघले आइतबार बेलुकी गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने एक भारतीय नागरिकलाई राजमार्गबाटै झम्टेर लगेको थियो । उक्त घटनापछि पनि दुई वटा बाघसोही क्षेत्रमा देखा परिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
‘मान्छे खाएका बाघ गाउँ वरिपरी घुमिरहेको छ, सोही बाघले आज पनि एउटा मोटरसाईकललाई झम्टियो, तर बाघको पन्जाले भेटाउन नसक्दा मोटरसाईकल चालक जोगिन सफल भए,’ स्थानीय चन्दा लामाले भनिन् । बाघ गाउँको झनै नजिक आएको उनले बताईन् । लामाका अनुसार दुई वटै बाघ अहिले निकुञ्ज छाडेर राजमार्गदेखी दक्षिणतर्फ गाउँ नजिकको जंगलमा सरेका छन् ।
ती बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ । बाघको निगरानी बढाउन त्यसक्षेत्रमा क्यामेरा समेत जडान गरिएको छ ।
स्थानीयका अनुसार पाटेबाघ विगत चार दिनदेखी सो क्षेत्रमा घुमिरहेको छ । दुई दिनअघि मात्र गाउँमै आएर सोही बाघले स्थानीयको दुई वटा बाख्रा, गाई र बाच्छो मारेका थिए । ती बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ । बाघको निगरानी बढाउन त्यसक्षेत्रमा क्यामेरा समेत जडान गरिएको छ ।
बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघको जोडी सोही क्षेत्रमा रहेकाले दुई वटा हात्ती र नेपाली सेना सहितको टोलीले २४ सै घण्टा गस्ती गरिरहेको बताए । उनले भने, ‘दुई वटा बाघ अहिले पनि सोही क्षेत्रमा घुमिरहेका छन्, मान्छेमाथी नै आक्रमण गरेपछि हामीले उसको निगरानी बढाउँदै आएका छौं, आजै राजमार्गमा मोटरसाईकल र बाघबीच जम्काभेट भएछ, धन्न अर्को घटना भएन ।’
प्रमुख संरक्षण अधिकृत शाहसहित निकुञ्जका अधिकारीहरु अहिले सोही क्षेत्रमा पुगेका छन् । बाघको निगरानी बढाउँदै उसको गतिविधी हेरेर नियन्त्रणमा लिईने शाहले बताए ।
‘यिनीहरु भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा हिडिरहेका हुन सक्छन्, वन्यजन्तुको शिकार गर्न बानी नपरेको हुँदा मान्छे र पशु चौपायालाई आक्रमण गरेको हुन सक्छ,’ उनले भने ।
‘यिनीहरु भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा हिडिरहेका हुन सक्छन्, वन्यजन्तुको शिकार गर्न बानी नपरेको हुँदा मान्छे र पशु चौपायालाई आक्रमण गरेको हुन सक्छ,’ उनले भने ।
बाघले आक्रमण गर्न सक्ने खतरा रहेकाले राजमार्गमा स्कुटर चलाउन निषेध नै गरिएको छ । यस्तै मोटरसाईकल, अटोरिक्सा लगायत साना सवारी साधनलाई समुहमा मात्र गुड्न दिइएको प्रमुख संरक्षण अधिकृत शाहले बताए ।