नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधीलाई शुक्रबार प्रमाणपत्र हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति बाँकेमा एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिस खडानन्द तिवारीले नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईसहित २३ वटै वडाका वडाअध्यक्ष र वडासदस्यलाई प्रमाणपत्र वितरण गरे ।
उपमहानगरपालिकामा दोब्बरबढी मत प्राप्त गरेर नेपाली कांग्रेसका विष्ट नगर प्रमुखमा निर्वाचित भएका हुन् । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका पशुपति दयाल मिश्रलाई ११ हजार ७ सय ८५ मतान्तरले पराजित गरेका थिए । विष्टले २३ हजार ४ सय ६० ल्याउँदा मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई १७ हजार ९ सय ५० मत प्राप्त गरेर निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरेकी थिइन् ।
प्रमाण पत्र वितरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, जिल्ला प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारी लगायतले अबको पाँच वर्षसम्म जनताको सेवामा सर्मपित हुन नवनिर्वाचित जनप्रतिनिधीलाई सुझाव दिए । कत्तिपनि पुर्वाग्रह नराखेर जनताको सेवा गर्न उनीहरुले आग्रह गरे ।
प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनिर्वाचित नगर प्रमुख विष्टले नेपालगन्जवासीले दिएको विश्वासको मतलाई पूर्ण रुपले पालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘यहाँहरुले दिएको विश्वासको मतलाई पूर्ण रुपले म पालना गर्नेछु, नेपालगन्ज उपमहानगरपालिकाले जनतालाई सहज सेवा दिनेछ,’ उनले भने । विशेषगरी शिक्षा, स्वास्थ्य लगायत साविकका गाउँका वडामा समान रुपले विकास गर्ने बताए ।
यस्तै उपप्रमुख राईले दुबै जना मिलेर नगरको विकासमा अगाडी बढ्ने बताए । ‘हामीले वाचा गरे अनुसार सम्पूर्ण नगरबासीको लागि काम गर्नेछौं, जनताको मतको मुल्यांकन र कदर गर्नेछौं,’ उनले भने ‘चुनावसम्म पक्ष, विपक्ष थियो, सबैको टोल, आँगन र घरमा हामी पुग्नेछौं ।’ नेपालगन्जको मुख्य समस्यालाई अबको ६ महिनामै परिवर्तन भएको महसुस प्रतिवद्धता ब्यक्त गरे ।