बाँके(जानकी) : जानकी गाउँपालिकामा नेपाली कांग्रेसले शनिबार वृहत्त रुपमा विजयी र्याली निकालेको छ । जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरबाट सुरु भएको उक्त र्याली विभिन्न वडामा पुगेको थियो ।
र्यालीमा नवनिर्वाचित गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, कांग्रेस नेता दुखिराम लोनिया, कांग्रेसका तर्फबाट जानकी गाउँपालिकाको विभिन्न वडामा निर्वाचित वडाअध्यक्ष र वडा सदस्य, कांग्रेसका नेता, कार्यकर्ता लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
सो क्रममा नवनिर्वाचित अध्यक्ष खाँ र उपाध्यक्ष यादवलाई स्थानीय बासिन्दाले भब्य रुपमा स्वागत तथा बधाई दिएका थिए ।
स्थानीय बासिन्दाले अबको पाँच वर्षसम्म जानकी गाउँपालिकाको विकासमा काम गर्न नवनिर्वाचित जनप्रतिनिधीलाई आग्रह गरेका थिए ।
सो क्रममा नवनिर्वाचित अध्यक्ष खाँले जनताले दिएको जिम्मेवारीलाई आफुले इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता जनाए । यस्तै उपाध्यक्ष यादवले जनताले आफुहरुलाई ठुलो जिम्मेवारी दिएको र त्यो पुरा गर्ने बताइन् ।
नवनिर्वाचित कांग्रेसका जनप्रतिनिधीले आफुहरुलाई सेवा गर्ने जिम्मेवारी दिएकोमा मतदातालाई धन्यवाद दिएका थिए । बाजागाजा सहित निस्केको र्यालीले जानकी गाउँपालिकाबासीलाई उत्साहित बनाएको थियो ।
स्थानीय तहको निर्वाचन २०७९ मा गाउँपालिकाको अध्यक्षमा खाँ र उपाध्यक्षमा यादव भारी मतले निर्वाचित भएका हुन् । खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १८५८ मतको अन्तरले पराजित गरेका थिए । कांग्रेसका खाँले ६६५३ मत प्राप्त गरेका थिए, भने एमालेका यादवले ४७९५ मत प्राप्त गरे ।
अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का राजिवकुमार कुर्मीले २९३८ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा यादवले नेकपा एमालेकी भुमिसरा धिताललाई दोब्बर बढी ३४५३ मतको अन्तरले पराजित गरिन् ।
रामप्यारीले ६९०९ मत प्राप्त गर्दा धितालले ३४५६ मत प्राप्त गरेकी थिइन् । तेस्रो स्थानमा आएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत प्रात गरेका थिए ।उक्त गाउँपालिकामा कांग्रेसका ३ जना, जसपाका २ र माओवादी केन्द्रका १ जना वडाअध्यक्ष निर्वाचित भएका छन ।
जसअनुसार वडा नम्बर १ मा जसपाका मोहम्मद रजा राई, वडा नम्बर २ मा माओवादी केन्द्रका चन्द्रीकाप्रसाद गुप्ता, वडा नम्बर ३ मा जसपाका राजकुमार कुर्मी, वडा नम्बर ४ मा कांग्रेसका रमेशकुमार वर्मा, वडा नम्बर ५ मा कांग्रेसकै टिकानाथ यादव र वडा नम्बर ६ मा कांग्रेसका जगदिशप्रसाद हरिजन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा कांग्रेसका उम्मेदवार झिनो मतले पराजित भएका थिए । अध्यक्षमा पराजित भएका खाँलाई कांग्रेसले यसपटक पुनः उम्मेदवार बनाएपछि निर्वाचित भएका हुन् । जानकीमा यसपटक एमाले 'क्लिन स्वीप' भएको छ ।