कोहलपुर: कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदी निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका खिलप्रसाद भुसाललाई १९२९ मतको अन्तरले पराजित गर्दै उनी आचार्य निर्वाचित भएका हुन् ।
नवनिर्वाचित नगर प्रमुख आचार्यले १४१३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए । एमालेका भुसालले १२२०५ मत ल्याए । नगर प्रमुख पदमै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र न्यौपानेले ९७२५ मत प्राप्त गरे ।
२०७४ को स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेको थियो । यसपटक एमालेले दुबै पद गुमाएको छ । कांग्रेसले करिव ३० वर्षपछि कोहलपुरमा आफ्नो विरासत कायम गर्न सफल भएको छ । यसअघि तत्कालिन कोहलपुर गाविस हुँदा समेत कांग्रेसले हार्ने गरेको थियो ।
यसैगरी नगर उपप्रमुखमा निर्वाचित सुवेदीले १४०७३ मत प्राप्त गरिन् । नेकपा एमालेकी अस्मिता थारुलाई ५५६ मतको अन्तरले पराजित गरेकी हुन् । अस्मिताले १३५१७ मत प्राप्त गरिन् । यस्तै गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) की नारायणी ओली तेस्रो भईन् । उनले ५०४२ प्राप्त गरेको निर्वाचन अधिकृत भट्टले बताए ।
कुल १५ वटा वडा रहेको कोहलपुरमा यसपटक कांग्रेसले वडामा पनि बहुमत ल्याएको छ । कोहलपुुर नगरपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का बद्रीप्रसाद जैसी, वडा नम्बर २ मा कांग्रेसका हरि कठायत, वडा नम्बर ३ मा नेकपा एमालेका माधव रिजाल, वडा नम्बर ४ मा कांग्रेसका मुबारक अलि गुजर, वडा नम्बर ५ मा एमालेका दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै वडा नम्बर ६ मा कांग्रेसका श्रीकृष्ण थारु, वडा नम्बर ७ मा एमालेका ठग्गा थारु, वडा नम्बर ८ मा कांग्रेसका लालबहादुर राना, वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका ओपेन्द्रनाथ योगी, वडा नम्बर १० मा कांग्रेसकी गौराकुमारी अधिकारी (भट्टराई) निर्वाचित भइन् ।
यसैगरी वडा नम्बर ११ मा एमालेकी कल्पना शर्मा, वडा नम्बर १२ मा कांग्रेसका विरेन्द्रकुमार शाह, वडा नम्बर १३ मा डम्बरबहादुर खड्का, वडा नम्बर १४ मा कांग्रेसका नमबहादुर आले र वडा नम्बर १५ मा पनि कांग्रेसकै दिपेन्द्रकुमार चौधरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आचार्यले एमालेका खिलप्रसाद भुसाललाई पराजित गरे ।नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने तेस्रो भए ।