नेपालगन्ज : स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको पुर्वसन्ध्या सम्म लवराज खरेल राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ को कांग्रेस वडा सभापतिको जिम्मेवारीमा थिए । मनोनयन दर्ता गर्न जाँदा बीच बाटोमै ‘टिकट खोसिएको’ भन्दै उनी कांग्रेस छाडेर दलबलसहित सोही दिन राप्रपा प्रवेश गरे । उक्त वडामा राप्रपाको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बने ।
४३ वर्षीय खरेल मात्र नभएर नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका कार्यसमिति सदस्य लक्ष्मी थारु, वडा उपसभापति रामबहादुर थारु, वडा सदस्य पतरी दमाईले पनि कांगे्रस परित्याग गरी राप्रपाबाटै वडा सदस्यको टिकट लिए ।
खरेलका अनुसार उक्त वडामा २५ सदस्यीय कांग्रेसको वडा कार्यसमिति मध्ये २१ जनाले पार्टी त्यागेर राप्रपा प्रवेश गरेका थिए । खरेलको टिकट खोसिँदाको आक्रोशले क्षेत्र र प्रदेश सभाका केही सदस्य तथा पदाधिकारी पनि रुष्ट भएर पार्टी छाडे ।
पार्टी छाड्नेमा १६ जना कांग्रेसकै क्षेत्रीय प्रतिनिधी थिए । कांग्रेस छाडेका करिव २ सय जनाले राप्रपाको संगठन नै नभएको वडा नम्बर ६ मा चुनावी माहोल आफ्नो पक्षमा बनाए । यसले गर्दा तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा माओवादी आधार इलाकाको रुपमा चिनिने वडा नम्बर ६ मा राप्रपाले आफ्नो विरासत कायम गर्न सफल भयो ।
२०७४ को माओवादी विरासत यसपटक तोडियो । राप्रपाले यहाँ अप्रत्यासित रुपमा आफ्नो अस्तित्व स्थापित गराउँदा कांग्रेस तेस्रो स्थानमा खुम्चियो । कांग्रेसभित्र विद्रोह गरेर फरक दलबाट उम्मेदवार बनेका लवराजका लागि यो निर्वाचन चुनौतीपूर्ण थियो ।
यो निर्वाचनमा पराजित भएमा आफ्नो राजनीतिक भविष्य अन्यौलमा पर्ने लवराजलाई चिन्ता थियो । तर, निर्वाचनले उनलाई राजनीतिमा झन् बलियो गरेर स्थापित गरिदियो । निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका जनकबहादुर थारुलाई ३ सय १० मतको अन्तरले पराजित गरे ।
खरेलले १ हजार ४ सय १४ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी निर्वतमान वडाअध्यक्ष समेत रहेका माओवादीका थारुले ११ सय ४ र तेस्रो स्थानमा आएका कांगे्रसका संजय शम्शेर राणाले ८ सय ७ मत प्राप्त गरेका थिए ।
संयोग नै मान्नुपर्छ, २०७४ को निर्वाचनमा पनि कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवार रहेका खरेललाई माओवादी केन्द्रका उम्मेदवार यिनै जनकले ३ सय १० मतको अन्तरले पराजित गरेका थिए । बाँकेमा आफ्नो पार्टीबाट अन्तिम समयमा विद्रोह गरी स्वतन्त्र वा कुनै दलको चुनाव चिन्हबाट निर्वाचित हुनेमा सम्भवतः खरेल एक मात्र वडाअध्यक्ष हुन् ।
को हुन् लवराज ?
२०४१ सालतिर वन कार्यालयमा जागिर गर्ने क्रममा लवराजका बुवा काभ्रेबाट बाँकेको फत्तेपुर आएका थिए । जागिरका क्रममा परिवारसहित आएका बुवाले फत्तेपुरमै घर, सम्पत्ती जोडे । २०४८ सालमा बाँके क्षेत्र नम्बर १ मा कांग्रेसले संसदीय निर्वाचनमा मेराज अहमद शाहलाई उम्मेदवार बनाएपछि बाल्यकालमा चुनाव प्रचारमा लागेका लवराजलाई राजनीतिक नसाले छोयो ।
‘त्यतिबेला म बिद्यार्थी नै थिए, तर म बच्चा भएपनि चुनाव प्रचारमा बेस्सरी हिडेको थिए, त्यसपछि नै मलाई राजनीति गर्नुपर्छ भन्ने लागेको हो,’ उनी सम्झिन्छन् । त्यसपछि बिद्यार्थी जीवनमा पनि उनी कांग्रेसको राजनीतिमा लागिरहे ।
२०५६ सालको अर्को संसदीय निर्वाचनमा कांग्रेसले क्षेत्र नम्बर १ बाट ज्ञानु केसीलाई उम्मेदवार बनाउँदा पनि उनी खुलेरै प्रचारमा लागे । तत्कालिन माओवादी द्धन्द्धका क्रममा कांग्रेस भएकै कारण विद्रोही पक्षबाट आफ्नो परिवारले हरेक डर, त्रास र धम्की बेहोर्न पुगेको लवराज अहिले पनि सम्झिन्छन् ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६६ सालमा तत्कालिन ‘ज्वाला सिंह’ नामक भुमिगत समुहले उनलाई केहीदिन सम्म अपरहण गरेर छाडेको थियोे । पार्टीमा लाग्दा अनेक दुःख, संघर्ष गर्दै अगाडी बढिरहेका खरेल साविक फत्तेपुर गाविसमा यति लोकप्रिय भए, कि सबै समुदायका नजरमा गाउँको जिम्मेवार अभिभावकका रुपमा नाम दर्ज गरे । स्थानीय शिद्धबाबा सामुदायिक वन उपभोक्ता समुहको संस्थापक अध्यक्षसहित खरेलले दुई कार्यकाल अध्यक्ष चलाए ।
यस्तै सामुदायिक वन तथा वातावरण संरक्षण समन्वय समितिको दुई पटक अध्यक्ष भए । राप्ती सोनारी बघौडा धार्मिक महोत्सवको वरिष्ठ उपाध्यक्ष भएर उनले गरेको कामको स्थानीय बासिन्दा अहिले पनि प्रशंसा गर्छन् । राजनीतिक र सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका उनले ४७ औं पटक रगत दान गरेर धेरैको जीवन बचाएका छन् ।
‘राप्ती सोनारी ६ मा कांग्रेसलाई बलियो बनाउन मैले यति धेरै मेहेनत गरे, पार्टीले यो निर्वाचनमा टिकट दिएपनि गुट नमिलेका कारण पछि बीच बाटोमै नेताले टिकट खोस्ने काम गरे, जुन पीडा अहिले पनि म भुल्न सक्दैन, त्यही झोकमा सबै साथीहरुले पार्टी छाडेर राप्रपाबाट टिकट लियौं र अहिले जनताको अपार माया र विश्वासले निर्वाचन जित्न सफल भयौंं,’ खरेलले भने ।
राप्ती सोनारी ६ का जनताले यसपटक अन्याय विरुद्ध न्याय दिएको उनी बताउँछन् । खरेलले भने, ‘वास्तवमा जनताले न्याय÷अन्याय छुट्याउँदा रहेछन्, जनताले जसरी हामी माथी विश्वास गरेर अन्यायका विरुद्ध फैसला गरिदिएका छन्, यो मेरो राजनीतिक जीवनकै अविष्मरणीय क्षण हुनेछ, अबको पाँच वर्ष म जनताको सेवामा सर्मपित हुनेछु र उहाँहरुको अमुल्य मतको कहिल्यै अपमान गर्नेछैन ।’