नेपालगन्ज : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका ठाउँमा उपलब्धी भएको दाबी गरेका छन् । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौंरले पार्टीले गठबन्धन गरेको बाँकेको नेपालगन्ज र खजुरामा प्रमुख/उपप्रमुख दुबै पद जित्न सफल भएको बताए ।
‘गठबन्धनमा प्रमुख र उपप्रमुख जितेका छौं, यो उपलब्धी हो, गठबन्धन गर्दा पार्टी हार्यो कि ?’ उनले प्रश्न गर्दै भने । पार्टीले हिजो टिकट बाँड्दा पैसा लिएर टिकट बेच्यो भन्ने पनि आफुले सुनेको सह-महामन्त्री राठौंरले बताए ।
‘आफ्ना नातागोतालाई टिकट दिने, पैसा लिएर टिकट दिने यो किसिमको प्रवृत्ती छ, पार्टीको केन्द्रले पावरलाई डिसेन्ट्रलाईज गरेको छ,’ उनले थपे ‘वडाको टिकट क्षेत्रीय कार्यसमितिले बाँड्ने, गाउँपालिकाको टिकट जिल्ला कार्यसमितिले बाँड्ने, नगर र उपमहानगरको टिकट प्रदेश कार्यसमितिले बाँड्ने अधिकार अहिलको विधानले दिएको छ ।’
विधानले दिएको अधिकारलाई पार्टीमा नेतृत्व गर्नेले जिम्मेवारीका साथ निर्वाह गरेको/नगरेको कुराको समिक्षा पार्टीमा आफ्नो कार्यसमितिमा गर्न नेता राठौंरले निर्देशन दिए । ‘धेरै कुरा सुनिएका छन्, धेरै कुरा भएका छन्, त्यसको समिक्षा केन्द्रिय समितिले पनि गर्नेछ,’ उनले भने ।
कांग्रेस पार्टीका शुभेच्छुक संस्थाले जुन भुमिका निर्वाह गर्नुपर्ने हो, त्यो भुमिका निर्वाह गर्ने कुरामा कता कता कमी कमजोरी भएको आफुलाई महसुुस भइरहेको बताए । लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण हुने उनको भनाई छ । ‘कसरी पत्रकारितालाई स्वच्छ बनाउन सकिन्छ, निश्पक्ष बनाउन सकिन्छ, कसरी पत्रकारिता गर्दा गर्दै लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ,’ उनले भने ‘लोकतन्त्रलाई कसरी बचाउन सकिन्छ, लोकतन्त्रको पक्षमा कसरी वकालत गर्न सकिन्छ भन्ने कुरालाई पनि गम्भिर भएर सोच्नको लागि अनुरोध गर्न चाहन्छु ।’
यस्तै विशिष्ट अतिथी एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले लोकतन्त्र प्राप्तीको आन्दोलनमा समग्र पत्रकार र प्रेस युनियनको भुमिका महत्वपुर्ण रहेको बताए । पार्टीको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रेस युनियन बाँके शाखाको सक्रियता र गरेका कामहरु निकै प्रशंसनीय रहेको बताए ।
‘प्रेस युनियन बाँके हरेक गतिविधीमा सक्रिय रहँदै आएको छ, हालै मात्र स्थानीय तहको निर्वाचनमा मिडिया सेन्तर सञ्चालन गरेर युनियनले जुन काम गरेको छ, यो काम अविष्मरणीय छ र पार्टीले उच्च मुल्यांकन गर्दछ,’ उनले भने ।
प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, टे«ड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बि.क लगायतले पनि बोलेका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य प्रेम केसी, पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, कांग्रेस बाँकेका उप-सभापतिद्धय कृष्ण कार्की र गोपाल अधिकारी, सचिवद्धय सुधान्सु कोइराला र सञ्जुकुमारी थारु, सह-सचिवद्धय विनोद थारु र रेणुसिंह ठाकुर, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघका पुर्वकेन्द्रिय सदस्य झलक गैरे, युनियन बाँकेका निर्वतमान अध्यक्ष जयनारायण शाह, पुर्वअध्यक्षद्धय मेघराज ओली र नरेन्द थापा, प्रेस युनियनका कार्यसमिति पदाधिकारी, साधारण सदस्य, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कांग्रेसका विभिन्न तहका नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।
सो क्रममा प्रेस युनियन बाँकेले प्रकाशनमा ल्याएको २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी लगायतले संयुक्त रुपमा पात्रो विमोचन गरेका हुन् । युनियनको स्थापना दिवसको अवसर पारेर उक्त पात्रो विमोचन गरिएको युनियन बाँकेले जनाएको छ । बाँकेमा प्रेस युनियनले पहिलो पटक पात्रो प्रकाशन गरेको हो । उक्त कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।