बाँके(राप्ती सोनारी) : राप्तीसोनारी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमाले निर्वाचित भएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र राप्रपाबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले एक्लै भिडेको थियो ।
तीन दलिय गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कार्यपालिका सदस्यमा एमालेबाट यमकुमारी ओली, राधिका सुनार, गोत्रकुमारी डाँगी, सुमित्रा कुमारी थारु, केशव दमाई र थान बहादुर बिक निर्वाचित भएका छन् ।
निर्वाचित भएका एमाले उम्मेदवारले २७/२७ मत पाएका छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार भएका नुमा बि.क, कमला बि.क, मिना कुमारी बुढा, प्रदिपकुमार रजक, धनबहादुर बि.क र लक्ष्मी चौधरीले २०/२० मत प्राप्त गरे ।
नुमा, कमला र मिना माओवादी केन्द्रका तर्फबाट प्रदिप र धनबहादुर काँग्रेसका तर्फबाट तथा लक्ष्मी राप्रपाका तर्फबाट उम्मेदवार बनेका थिए । कानुनी ब्यवस्था अनुसार गाउँ कार्यपालिका सदस्यमा निर्वाचित वडा सदस्य मध्येबाट ४ जना र दलित/अल्पसंख्यकबाट २ जना निर्वाचित हुन्छन् ।
कुल ९ वटा वडा रहेको राप्तीसोनारीमा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषासिंह थारुसहित ४७ जनाले मतदानमा सहभागिता जनाएका थिए । कार्यपालिका सदस्य निर्वाचित भएसँगै गाउँ कार्यपालिका (बोर्ड) ले पूर्णता पाएको छ । राप्ती सोनारीमा अब १७ सदस्यीय स्थानीय सरकार बनेको छ ।
कार्यपालिकामा अब एमालेको ११, नेकपा माओवादी केन्द्रको ३, नेपाली कांग्रेसको २ र राप्रपाका १ जना सदस्य हुनेछन् । कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।