नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् । उपमहानगरपालिकामा ८ जना कार्यपालिका सदस्य चयन गर्न सोमबार मतदान गराइएको थियो ।
निर्वाचनमा कांग्रेसकी अमृता कुमारी सिंह, पुष्पा सिंह, संगिता रेग्मी, जनता समाजवादी पार्टीकी शोभा खटिक, बसन्तकुमार कनौजिया र मो. मुजस्मिल हुसैन हल्वाई तथा राप्रपाका विना थापा र विक्रम चिडिमार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । उनका अनुसार कांग्रेस र जसपाका ३/३ जना र राप्रपाका २ जना निर्वाचित भएका छन् ।
निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकिकृत (नेकपा समाजवादी) र राप्रपाबीच गठबन्धन बनेको थियो । यस्तै जसपा र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो । कांग्रेस, माओवादी, एकिकृत नेकपा समाजवादी र राप्रपाबीच बहुमत सदस्य हुँदा पनि उनीहरुका तीन जना उम्मेदवारले चुनाव हारेका छन् ।
कुल २३ वटा वडा रहेको नेपालगन्जमा नगर प्रमुख र उपप्रमुख सहित १ सय १७ जना मतदाता थिए । यसमध्ये कांग्रेस, माओवादी, राप्रपाका गरी ६७ जना मतदाता रहेका थिए । यसअघि उपमहनगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा कांग्रेस, माओवादी, जसपा, नेकपा एकिकृत समाजवादी र जनमोर्चाबीच गठबन्धन बनेको थियो, भने एमाले र राप्रपा एक्ला एक्लै लडेका थिए ।