नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिकामा कुनैपनि दलले बहुमत पुर्याउन सकेका छैनन् । उपमहानगरपालिकाको कार्यपालिका(बोर्ड)मा संख्यात्मक रुपले सबैभन्दा बढी सिट जनता समाजवादी पार्टी(जसपा), त्यसपछि नेपाली कांग्रेस, एमाले र राप्रपा तथा माओवादी केन्द्रको रहेको छ ।
केहीदिन अघि सम्पन्न भएको उपमहानगरपालिकाको निर्वाचनमा प्रमुख पदमा कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुख पदमा जसपाका कमरुद्धिन राई निर्वाचित भएका थिए । कुल २३ वटा वडा मध्ये जसपाले ६, नेपाली कांग्रेसले ५, नेकपा एमालेले ५, नेकपा माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा वडा जितेको थियो ।
उपमहानगरपालिकामा कुल ३३ सदस्यीय कार्यपालिका (बोर्ड) गठन गर्नुपर्ने प्रावधान रहेको छ । यसका लागि ८ जना कार्यपालिका सदस्य चयन गर्न सोमबार मतदान गराइएको थियो । मतदान प्रक्रियामार्फत कांग्रेस र जसपाले समान ३/३ र राप्रपाले २ वटा सदस्य पद जितेको छ ।
यो सँगै अब उपमहानगरपालिकामा जसपाको उप-प्रमुखसहित १० जना, कांग्रेसको प्रमुखसहित ९ जना, एमाले र राप्रपाको समान ५/५ जना तथा माओवादी केन्द्रको ४ जनाले बोर्डमा प्रतिनिधित्व गर्ने भएका छन् । उपमहानगरपालिकाको बोर्डमा बहुमत सदस्य संख्या १७ हुनुपर्छ । तर, कार्यपालिका (बोर्ड) मा कसैले पनि बहुमत पुर्याउन सकेका छैनन् ।
नयाँ गठबन्धनलाई कायम राखेर कांग्रेस, राप्रपा र माओवादी केन्द्र मिल्ने हो, भने बोर्ड सदस्य संख्या १८ पुग्छ, जुन बहुमत संख्या हो । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा भएको गठबन्धन अनुसार यदी कांग्रेस, जसपा र माओवादी केन्द्र एकै ठाउँमा आउने हो भने पनि बोर्ड सदस्य संख्या २३ पुग्ने देखिन्छ ।
उपमहानगरपालिकाले नगर सभा बाहेक कार्यपालिका बैठकबाट अधिकांस निर्णय गर्नुपर्ने हुन्छ । त्यसकारण कार्यपालिका(बोर्ड) स्थानीय सरकारको एउटा महत्वपूर्ण अंग मानिन्छ । कार्यपालिका सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एकिकृत (नेकपा समाजवादी) र राप्रपाबीच गठबन्धन बनेको थियो । यसपटक जसपा र नेकपा एमाले मिलेर चुनाव लडेका थिए ।
निर्वाचनमा उपमहानगरपालिकाका कुल १ सय १७ जनाले मतदान गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, एकिकृत (नेकपा समाजवादी) र राप्रपाबीच बहुमत सदस्य हुँदा पनि गठबन्धनका ३ जना उम्मेदवारले चुनाव हारेका छन् ।
यसअघि गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि मात्रै कांग्रेस, माओवादी, जसपा, नेकपा एकिकृत समाजवादी र जनमोर्चाबीच गठबन्धन बनेको थियो, भने एमाले र राप्रपा एक्ला एक्लै लडेका थिए ।