नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले बाँकेका केही स्थानीय तहको कार्यपालिका सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का कारण गठबन्धन हुन नसकेको प्रष्ट्याएका छन् ।
कार्यपालिका सदस्य निर्वाचनका लागि जसपाले डुडुवा र जानकी गाउँपालिकामा कांगे्रससँग गठबन्धन गर्न नचाहेको, तर कांग्रेसले सबै ठाउँमा प्याकेजमै गठबन्धन गरौं भन्दा उसले नमानेपछि नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धन नगरेको उनले प्रष्ट्याए ।
‘कार्यपालिका सदस्य निर्वाचनका लागि गठबन्धनको बैठकमै जसपाका जिल्ला अध्यक्ष कमरुद्धिन राईले डुडुवाका हाम्रा कार्यकर्ताले मान्दैनन्, डुडुवा बाहेक अरु ठाउँमा गठबन्धन गरौं भनेर भन्नुभयो, हामीले यदी डुडुवामा तपाईहरु गर्न चाहनु हुदैन भने नेपालगन्जमा पनि हामी गर्न सक्दैनौं भनेर भन्यौं र गठबन्धनभित्र रहेका अरु चारदल बीचको सहमती अनुुसार राप्रपासँग नेपालगन्जमा गठबन्धन गरिएको हो,’ केन्द्रिय सदस्य बाल्मिकीले प्रष्ट्याउँदै भने ।
कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेसले जसपासँग गठबन्धन गर्ने भए सबै ठाउँमा गर्ने, एउटा ठाउँमा गठबन्धन नभए कुनैपनि ठाउँमा नगर्ने मापदण्ड बनाएको उनले स्मरण गराए । जसपाले डुडुवा र जानकीमा गठबन्धन गर्न नचाहने, तर नेपालगन्ज, नरैनापुर र जिल्ला समन्वय समितिका लागि कांग्रेस समक्ष आफ्नो माग राख्ने गरेको केन्द्रिय सदस्य बाल्मिकीले बताए ।
‘वास्तविक कुरा यही हो, गठबन्धन नेपाली कांग्रेसले तोडेको भनेर केही साथीहरुले चोक चौराहामा भनिरहेका छन्, म भन्छु जसपाले गठबन्धनमा अनइच्छा जाहेर गरेको हुनाले हामीले बाध्य भएर राप्रपासँग गठबन्धन गरेका हौं,’ उनले थपे ।
डुडुवामा जसपाले एमालेसँग गठबन्धन गर्दा कांग्रेसका उम्मेदवारहरु कार्यपालिका सदस्य पदमा पराजित हुनु परेकोे, जानकी गाउँपालिकामा जसपाले एमालेसँग गठबन्धन गरेपनि कांग्रेस र माओवादीबीच बनेको गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएको उनले सुनाए ।
‘नेपालगन्जमा कांग्रेस, राप्रपा र माओवादीको मत संख्या जोड्दा हाम्रो बढी नै थियो, तर यहाँ गठबन्धनभित्रै कांग्रेसका साथीहरुले ह्वीप नमान्दा हामीले ठुलो नोक्सानी झेल्यौं ।’ पार्टीको ह्वीप नमान्नेलाई अनुशासनको कारबाही गर्नुपर्ने केन्द्रिय सदस्य बाल्मिकीले बताए ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा भने कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको थियो । त्यतिबेला पनि जसपाले सुरुमा गठबन्धन गर्न नचाहेको र पार्टीको केन्द्रीय नेतृत्वको दवाव पश्चात पछि मात्रै गठबन्धन गर्न बाध्य भएको बाल्मिकीले सुनाए ।
भिडियो हेर्नुस् :