नेपालगन्ज : बाँकेका राजनीतिक दलहरुको ध्यान अब जिल्ला समन्वय समिति बाँकेको निर्वाचनतर्फ केन्द्रित भएको छ । जिससमा नेतृत्व लिन बाँकेका केही दलले आन्तरिक रुपमा तयारी नै थालेका छन् । २०७४ मा तत्कालिन संघिय समाजवादी फोरमले जिल्ला समन्वय समितिको प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख जितेको थियो ।
जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले सदस्यहरु निर्वाचित गर्ने प्रावधान रहेको छ । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरु मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी ब्यवस्था छ । तर, प्रायः निर्वाचित वडा सदस्य मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ । ती उम्मेदवारलाई गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।
कुल ८ वटा स्थानीय तह रहेको बाँकेमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित १६ जना मतदाता रहेका छन् । यसपटक समन्वय समिति निर्वाचनमा कांग्रेसका १२ जना, जनता समाजवादी पार्टी(जसपा)का ३ र नेकपा माओवादी केन्द्रका १ जनाले मतदान गर्दैछन् । कांग्रेसले यसपटक कोहलुर नगरपालिकासहित राप्ती सोनारी, बैजनाथ, डुडुवा र जानकी गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुबै पद जितेको छ । नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख र खजुरा गाउँपालिकामा उपप्रमुख कांग्रेसले पाएको छ ।
यस्तै जसपाले नरैनापुर गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पद जितेको छ । यसैगरी नेकपा (माओवादी केन्द्र)ले खजुरा गाउँपालिकामा मात्र प्रमुख पद जित्न सफल भएको छ । यसपटक बाँकेका स्थानीय तहको प्रमुख÷उपप्रमुखमा एमाले र राप्रपाको उपस्थिती शुन्य छ ।
जिल्लाका अधिकांस स्थानीय तहको कार्यपालिका (बोर्ड) सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ । कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुन पुगेको हो ।
समन्वय समितिको नेतृत्व गर्न दलहरुबीच आन्तरिक तयारी भएको हो । मतदाता संख्याको आधारमा यसपटक समन्वय समितिमा कांग्रेस एक्लैको पनि बहुमत पुगेको देखिन्छ । समन्वय समितिका लागि आफ्ना उम्मेदवार चयन गर्न कांग्रेस बाँकेले आन्तरिक रुपमा तयारी थालेको छ । समन्वय समितिको निर्वाचन मिति एकिन नभएपनि पार्टीले आन्तरिक रुपमा तयारी सुरु गरेको कांग्रेसका एक पदाधिकारीले बताए ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले यस विषयमा पार्टीभित्र अनौपचारिक रुपमा छलफल भएपनि उम्मेदवारको टुंगो लगाउने विषयमा अझै प्रवेश नगरेको बताए । 'समन्वय समितिको निर्वाचन कांग्रेस एक्लै लड्छ कि गठबन्धन हुन्छ ?' भन्ने प्रश्नमा गौडेलले यस विषयमा अहिलेसम्म कुनै छलफल नभएको प्रतिक्रिया दिए ।
समन्वय समितिमा यसअघि नेतृत्व गरिसकेको जसपाभित्र यसपटक भने निर्वाचन तयारीबारे सुरसार देखिदैन । जसपाका केन्द्रीय नेता एवम् पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले समन्वय समितिको निर्वाचनका विषयमा जिल्लाले कुनै निर्णय गर्न नसक्ने बताए । ‘समन्वय समितिका विषयमा हामीले केही गर्न सक्दैनौं, केन्द्रबाट के सर्कुलर आउँछ, त्यसपछि मात्र जसपा अगाडी बढ्छ,’ क्षेत्र नम्बर २ का सांसद समेत रहेका राईले भने ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाबीच नेपालगन्ज उपमहानगरपालिकको नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धन बनेको थियो । उक्त निर्वाचनमा दुबै पद गठबन्धनले जितेको थियो । तर, नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका (बोर्ड) सदस्य निर्वाचनमा जसपा यस गठबन्धनबाट बाहिरिसकेको छ ।