नेपालगन्ज : नेपाली कांग्रेस यसपटक जिल्ला समन्वय समिति बाँकेमा एक्लै लडेपनि सहज रुपमा जित्ने अवस्था देखिएपछि आकांक्षीहरु देखिन थालेका छन् । कांग्रेस बाँकेको कार्यालयमा अहिलेसम्म प्रमुख पदका लागि २ जनाले निवेदन दिइसकेका छन् ।
कांग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्माका अनुसार डुडुवा गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य ज्ञानेन्द्रकुमार चौधरी र बैजनाथ गाउँपालिका वडा नम्बर ८ का निर्वाचित सदस्य धिरेन्द्रसिंह ठकुरीले समन्वय समितिको प्रमुख पदमा उम्मेदवार बन्ने आकांक्षा राख्दै निवेदन पेश गरेका हुन् । चौधरी समन्वय समितिका निर्वतमान उप-प्रमुख पनि हुन् ।
‘अहिलेसम्म प्रमुख पदका लागि दुई जनाको निवेदन प्राप्त भएको छ,’ शर्माले भने ‘पार्टीको प्रदेश समितिले यही जेठ १८ गतेसम्म समन्वय समितिमा आकांक्षा राख्ने ब्यक्तिको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ ।’
२०७४ मा तत्कालिन संघिय समाजवादी फोरमले जिल्ला समन्वय समितिको प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित प्रत्येक निर्वाचन क्षेत्रबाट ३÷३ जनाका दरले सदस्यहरु निर्वाचित गर्ने प्रावधान रहेको छ ।
स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरु मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी ब्यवस्था छ । तर, प्रायः निर्वाचित वडा सदस्य मध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ ।
ती उम्मेदवारलाई गाउँपालिका÷नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् । कुल ८ वटा स्थानीय तह रहेको बाँकेमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित १६ जना मतदाता रहेका छन् । यसपटक समन्वय समिति निर्वाचनमा कांग्रेसका १२ जना, जनता समाजवादी पार्टी (जसपा) का ३ र नेकपा माओवादी केन्द्रका १ जनाले मतदान गर्दैछन् ।