नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेको निर्वाचन सरगर्मी बढेको छ । समन्वय समितिका लागि यसपटक नेपाली कांग्रेसको एकल बहुमत रहेको छ । बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन् । यि मध्ये कांग्रेसले कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ ।
यस्तै नेपालगन्जमा कांग्रेसले प्रमुख र जनता समाजवादी पार्टी (जसपा) ले उपप्रमुख जितेको छ । खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा कांग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ ।
समन्वय समितिको निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्न लागिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइमा उम्मेदवारी दर्ता गरिनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही जेठ २७ गते बिहान ११ देखि १ बजेसम्म मतदान तोकेको छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता रहेका छन् । यि मध्ये १२ जना मतदाता नेपाली कांग्रेसका छन् ।
जिसस निर्वाचनमा स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु उम्मेदवार हुन पाउने ब्यवस्था छ । तर, मतदानमा भने स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् । जिससमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरी ३÷३ जनाका दरले अन्य ९ जना सदस्य पनि निर्वाचित हुनेछन् ।