नेपालगन्ज : जिल्ला समन्वय समितिको प्रमुखका लागि नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र जनता समाजवादी पार्टी(जसपा)का उमेशकुमार कुर्मीले मनोनयन दर्ता गराएका छन् । उप-प्रमुख पदमा भने नेपाली कांग्रेसकी नेतृ सीता कार्कीको एकल उम्मेदवारी परेपछि निर्वाचित भइसकेकी छन् ।
गठबन्धनभित्र कांग्रेसले प्रमुख र उप-प्रमुख सहित ४ जना सदस्य तथा जसपा, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) ले १/१ जना सदस्य लिने सहमती भएपनि जसपाले आफ्नो छुट्टै उम्मेदवार खडा गरेको कांग्रेससहित गठबन्धन दलको आरोप छ ।
समन्वय समितिको सदस्य (महिला) पदमा (माओवादी केन्द्र)की चमेली थरुनी र रेवती दमाई तथा जसपाकी तरन्नुन बानो शेष र लक्ष्मी पासीले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यमा ३ जना निर्वाचित हुने ब्यवस्था छ ।
समन्वय समितिको प्रमुख र महिला सदस्य पदमा आवश्यक संख्या भन्दा बढी उम्मेदवार भएकाले दुबै पदका लागि मतदान गराइने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । समन्वय समितिको सदस्य (खुल्ला)मा भने नेपाली कांग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी निर्विरोध निर्वाचित भएका छन् ।
बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन् । यि मध्ये नेपाली कांग्रेसले कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ । यस्तै नेपालगन्जमा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ ।
खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा कांग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ । समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने ब्यवस्था छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता रहेका छन । यि मध्ये १२ जना मतदाता नेपाली कांग्रेसका छन् ।
समन्वय समितिका लागि स्थानीय तहमा निर्वाचन प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य जो कोही पनि उम्मेदवार बन्न पाउँछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही जेठ २७ गते बिहान ११ देखि १ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनलाई स्वीकार नगरेको बताए । जसपालाई बैठकमा बोलाउँदा अनुपस्थित भएको र गठबन्धनभित्र रहेका बाँकी दलबीच भएको छलफल अनुसार जसपा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लाई १/१ जना सदस्य पद दिने सहमती भएको बताए ।
तर, जसपाले गठबन्धनभन्दा बाहिर गएर प्रमुख र महिला सदस्य पदमा आवश्यक भन्दा बढी उम्मेदवारी दर्ता गराएको सभापति गौडेलको जिकिर छ । ‘उम्मेदवारी दर्ता गराउने जसपाको स्वतन्त्रताको कुरा हो, जसपा गठबन्धनको छलफलमै आएन, तरपनि गठबन्धनभित्रका बाँकी दलहरु बसेर लिखित माइन्युट गरेका छौं,’ उनले भने ‘जसपाले कहिल्यै गठबन्धनलाई मानेको छैन, उसले गठबन्धनलाई महत्व दिएको छैन, जसले गर्दा यो अवस्था आएको हो ।’
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा कांग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा बीच गठबन्धन बनेको थियो । सो क्रममा गठबन्धनभित्रका प्रमुख र उपप्रमुख पदका उम्मेदवार निर्वाचित भएका थिए । तर, उपमहानगरपालिकाको कार्यपालिका(बोर्ड) सदस्य निर्वाचनमा भने गठबन्धनबाट जसपा बाहिरिएको थियो । त्यसपछिराप्रपासँग कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए ।
जनता समाजवादी पार्टी(जसपा)का जिल्ला अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख कमरुद्धिन राईले जिल्ला समन्वय समितिको निर्वाचनमा जसपा पाँच दलिय गठबन्धनभित्र नरहेको बताए । ‘यो निर्वाचनमा जसपा गठबन्धनभित्र छैन, कांग्रेसले हामीलाई गठबन्धनबाट भगाईदियो,’ उनले भने ।
भिडियो हेर्नुस् :