नेपालगन्ज : बाँकेमा अत्यधिक रुपले गर्मी बढेको छ । गर्मी बढेपछि बिद्यालय जाने बालबालिका प्रत्यक्ष रुपमा प्रभावित हुने गरेका छ् । गर्मी बढ्दै गएपछि जिल्लाका बिद्यालय धमाधम बन्द गर्न थालिएको छ । जिल्लाका केही स्थानीयले बिद्यालय बन्द गर्ने निर्णय नै गरिसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । गर्मी अत्यधिक रुपले बढेका कारण पठन पाठनमा समस्या आएकाले पाँच दिनका लागि बिद्यालयको पठन-पाठन बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाले बताए । उनका अनुसार यही जेठ २७ देखि जेठ ३१ गतेसम्म बिद्यालयको पठन पाठन बन्द गरिनेछ ।
यस्तै कोहलपुर नगरपालिकाले पनि यही जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म बिद्यालयमा गर्मी बिदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखा प्रमुख रबिलाल मिजारले पाँच दिनका लागि गर्मी बिदा दिइएको बताए ।
आवश्यकताका आधारमा प्रशासनिक कार्य तथा पुर्व निर्धारित परीक्षाहरु नियमित हुनुका साथै मौसम अनुकुलताका आधारमा बिदामा पुर्नविचार हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी जिल्लाको खजुरा गाउँपालिकाले पनि सबै बिद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले अत्याधिक गर्मी बढेर पठन पाठनमा समस्या आएपछि यही जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म गर्मी विदा गरिएको जानकारी दिए ।
पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष खुला राखिने उनले बताएका छन । जिल्लाका अन्य स्थानीय तहले भने गर्मी बिदा दिने विषयमा अझै निर्णय गरिसकेका छैनन् ।