नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको कार्यालयमा लगाइएको ताला खोल्ने सहमती भएको छ । कांग्रेसको असन्तुष्ट पक्षले केहीदिन अघि विभिन्न माग राख्दै तालाबन्दी गरेको थियो ।
कांग्रेस कार्यालयमा लगाइएको तालाका विषयमा निकास निकाल्न केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको उपस्थितीमा बसेको बैठकमा यस्तो सहमती भएको जिल्ला सचिव सुधान्सु कोइरालाले जानकारी दिए । ‘पार्टीभित्रका असन्तुष्ट पक्षले लगाएको ताला खोल्ने सहमती भएको छ, अब पार्टी कार्यालय नियमित रुपमा सञ्चालन हुन्छ,’ दूरसञ्चार डटकमसँग भने 'आज शनिबार परेको हुँदा ताला चाही भोली (आइतबार) खोल्ने कुरा भएको छ ।'
जिल्ला कार्यालयमा लगाइएको तालाको विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विचाराधिन रहेको र यस विषयमा केन्द्रले गर्ने निर्णयमा दुबै पक्ष सहमत भएका छन् ।
आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धति बमोजिम सबैको सम्मान हुने गरी सञ्चालन गर्ने गरी दुबै पक्ष सहमत भइ पार्टी कार्यालयमा लगाइएको ताला खोल्ने सहमति गरिएको हो । सो सम्बन्धमा दुबै पक्षले केन्द्रमा आवश्यक पहल गर्ने पनि निर्णय गरिएको छ । पार्टी कार्यालयलाई विधान बमोजिम नियमित रुपमा सञ्चालन गर्नका लागि पार्टी कार्यालय नियमित रुपमा सञ्चालन हुन आवश्यक रहेकाले ताला खोल्नुपर्नेमा दुबै पक्ष सहमत भएका छन् ।
बैठकमा विशेष आमन्त्रित रहेका पार्टीका केन्द्रीय सदस्य बाल्मिकी तथा जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव कोइराला र क्षेत्र नम्बर १ का सभापति पोषण केसी, असन्तुष्ट पक्षका तर्फबाट महासमिति सदस्य बादशाह कुर्मी, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, महासमिति सदस्य फुलाराम थारु, महाधिवेशन प्रतिनिधी सुदिपनरसिंह राणा र जिल्ला सदस्य अशोक श्रेष्ठले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्बन्धित समाचार पढ्नुस् :
तालाबन्दीप्रति कांग्रेस सभापति गौडेलको गम्भिर ध्यानाकर्षण
विधान विपरित गरिएका निर्णय नसच्याएको भन्दै कांग्रेस कार्यालयमा तालाबन्दी- (भिडियो सहित)