कोहलपुर : पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथा संग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो ।
टिप्पणीकार सुमित्रा न्यौपानेले संग्रहका सबै कथालाई सरसर्ती व्याख्या गरिन् ।बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा बिदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताइन् ।
'उसको बानी व्यहोरा र पढाइको समेत वास्ता नगरि हचुवामा क्षमतावान व्यक्तिको रुपमा विश्वास गर्ने हाम्रो स्वभाव छ,' न्यौपानेले भनिन् 'वैवाहिक जीवनको कौतुहलता र अनुमानको बारेमा केटीले गरेको मनोविश्लेषणलाई कथामा उनिएको छ ।'
यौनको उन्मादमा आफन्त पनि नभन्ने सामाजिक अपराधी पुरुष पात्रलाई पीडक देखाएर मात्रै नारी माथिको अत्याचार र भेदभाव नमेटिने न्यौपानेको धारणा थियो ।
नारीपात्रलाई कोमल हृदयको रूपमा चित्रण गरिएको छझ न्यौपानेले अगाडि भनिन्, 'कृतिले मानिसलाई सर्वगुण सम्पन्न बनाएर पठाएको हुँदैन, नारीहरू आफ्नो हकहितका लागि सदैव लडेर मात्रै हुँदैन, दाजुभाइले उनीहरूलाई साथ र सहयोग दिनुपर्छ ।' पैसा कमाउन बिदेश गएका महिलालाई पैसा कमाउने नाममा विभिन्न गल्ती गरेका लान्छना लगाएका प्रसंगलाई कथामा जोड्नु शोभनीय नभएको पनि न्यौपानेले बताइन् ।
परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रस्टाले मोम्चो पुस्तकका बारेमा टिप्पणी राखेका थिए । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथा संग्रहका अधिकांश कथा नारीका बिषयमा केन्द्रित रहेको बताए । पादुकाले संग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राखे ।
'पराजुलीका कथामा सीमान्तकृत समुदायका नारीका जीवन र भोगाइलाई समेटिएको छ,' पादुकाले भने 'कथा मार्फत नारीका समस्यालाई मात्रै उठाइएको छैन, तीनका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ, यसमा समाज र राज्यको दायित्व के हुन्छ भन्ने कुरालाई पनि उठान गरिएको छ ।'
पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको बताए । शीर्ष कथा र समग्र कथामा नारीका सुख दुःखलाई उजागर गरिएकोले मोम्चो नारी प्रधान कृति होझ टिप्पणीकार गैरेले भने, 'कथामा घटनाले प्राथमिकता पाएको छ र कथाकारले त्यसलाई आफ्नो लेखन शिल्पमार्फत व्याख्या गरेका छन् ।'
परिचर्चा कार्यक्रममा नरेन्द्रजंग पिटर, मणि अर्याल र सूर्यप्रकाश कँडेलले पनि बोलेका थिए । कार्यक्रममा कपिल अन्जान, भावना पाठक, अन्जु निलसागर, छविलाल खड्का, भुपेन्द्र सुवेदी, ललीत प्रकाश चन्द, प्रकाश मरासिनी लगायत ५० बढी साहित्यानुसागीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव हिरामणि ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई पुष्कर रिजालले सहजीकरण गरेका थिए । पुस्तकलाई भुँडीपुरण प्रकाशनले बजारमा ल्याएको हो । पराजुलीको यसअघि कुमाता कथा संग्रह प्रकाशित छ । पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता हुन् ।
