नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा आधारभूत पत्रकारिता तालिम सोमबारबाट सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ को सहयोगमा समृद्धिका लागि सञ्चार नेपाल, बाँकेले उक्त तालिम सञ्चालनमा ल्याएको हो ।
पाँच दिनसम्म चल्ने तालिममा पत्रकारिता सम्बन्धी आधारभुत ज्ञान दिइने आयोजकले जनाएको छ । वडामा पत्रकार उत्पादन गरी समग्र वडाको विकास र समृद्धिका पक्षमा कलम चलाउन उत्प्रेरित गर्न तालिम आयोजना गरिएको हो ।
समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओलीको सभापतित्व एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष गोविन्दप्रसाद रेग्मीको प्रमुख आथित्यतामा तालिम उद्घाटन गरिएको थियो । सो क्रममा बोल्दै प्रमुख अतिथी रेग्मीले पत्रकारिताले समाजमा भएका राम्रा/नराम्रा कुरा बाहिर ल्याउन महत्वपूर्ण भुमिका निभाउने बताए ।
वडाको विकास र समृद्धिका लागि वडा कार्यालयले थालेको कामलाई सफल बनाउन पत्रकारिता क्षेत्रले महत्वपुर्ण भुमिका खेल्ने बताए । वडा नम्बर ९ ले सञ्चालन गरेको सरसफाई अभियानमा साथ दिन पनि उनले आग्रह गरे ।
यस्तै वडा नम्बर ९ का वडा सदस्य जयन्ती खत्रीले पत्रकारले लेखेका समाचारले विकास, निर्माणमा टेवा पुग्ने बताइन् । राम्रा कामलाई प्रोत्साहन र नराम्रा कुरालाई निरुत्साहित गर्न पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिइन । यस्तै अर्का सदस्य मिना नेपालीले वडाको समग्र विकासमा टेवा पुर्याउन वडा कार्यालयले तालिम आयोजना गरेको प्रष्ट्याइन् ।
वडा नम्बर ९ का वडासचिव दोर्णकुमार बोहराले पत्रकारिताले समाजलाई अगाडी बढाउन मद्धत गर्ने बताए । ‘तालिम सामान्य लाग्ला, तर यसको प्रभावकारिता बेग्लै हुन्छ,’ उनले भने । तालिम उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव एवम् अधिवक्ता चित्रबहादुर केसीले गरेका थिए । उक्त तालिममा पत्रकार विश्वराज पछल्डंग्या लगायत वरिष्ठ पत्रकारले प्रशिक्षण दिएका छन् ।