नेपालगन्ज : बाँकेका ट्रक व्यवसायीले सरकारी रबैयाले गर्दा आफ्नो व्यवसाय धरासयी भएको गुनासो गरेका छन् । सरकारकै कारण आफुहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको भन्दै गम्भीर ध्यानाकर्षण गरएका हुन् ।
सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवासायी पलायन हुने अवस्था आएको नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताए ।
‘सरकार व्यवसायीमाथि निर्दयी भएकाले हामी आफ्ना ढुवानीका साधान थन्क्याउनु पर्ने अवस्थामा पुग्यौं,’ उनले भने ‘हाम्रो जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु र ओकाल्नु जस्तै भएको छ ।’ राज्यको कर प्रणाली चुस्त दुरुस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अर्वौ लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेका मल्लको गुनासो छ ।
इन्धन र गाडीका पाठपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर ओलीले आक्रोस पोखे । उनले भने, ‘ढुवानी भाडा बढाउनु त परैको कुरा, सरकारले तोकेको ढुवानी भाडा समेत हामीले पाउन सकेनौं यो जस्तो दुखद् र बिडम्वना अरु के हुन सक्छ ?’
पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन । कम मूल्यमा आफुहरुले ढुवानी गरेपनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामाग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।
नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको भेरी ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले बताए । ‘घरखेत राखेर व्यवसाय गर्यौं,’ उनले भने ‘सरकारको गैरजिम्मेवारका कारण आज घरपरिवार चलान नसक्ने अवस्थामा पुग्यौं ।’
ट्रक व्यवसायीले चुंगी कर, सडक कर र गद्दी खर्च यावत हिसाबले पीडित हुनु परेको दुखेसो सुनाए । उनीहरुले आयकर र अग्रिम करलाई व्यवहारिक बनाउन माग गरेका छन् । सरकार आफैले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन नभएसम्म आफुहरु ढुवानीका साधन चलाउन नसक्ने अवस्थामा पुगेका छन । बाँकेका पाँच वटा प्रालिले कार्यगत एकता गर्दै आगामी असार २ गतेदेखि ढुवानीका साधन थन्क्याउने निस्कर्षमा पुगेको अध्यक्ष मल्लले बताए ।
भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी अञ्चल ट्रक समिति, नेपालगन्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्द कैशाल ट्रक प्रालिले कार्यगत एकता गरेर सरकार विरुद्ध ढुवानीका साधान घरमै थन्क्याउने भएका हुन् । बाँकेमा करिव एक हजार ट्रक व्यवसायी रहेको बताइएको छ ।