बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाको कार्यपालिका (बोर्ड) बैठक अनिश्चित बनेको छ । गाउँपालिकाको बिहीबार तय गरिएको बैठकमा नेकपा एमालेका जनप्रतिनिधी अनुपस्थित भएर बहिष्कार गरेका थिए ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार उक्त बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० को बजेटबारे छलफल, आन्तरिक आम्दानी, नदीजन्य पदार्थ अवैध उत्खनन नियन्त्रण, आगामी वर्षको योजना तथा कार्यक्रम तय लगायत विषयमा ब्यापक छलफल गर्ने एजेण्डा थियो । तर, एमालेका कार्यपालिका सदस्य एक्कासी अनुपस्थित हुँदा बैठक नै बस्न सकेन ।
‘गाउँपालिकाको यो बैठक निकै महत्वपूर्ण हो, एमालेका साथीहरु बैठकमा आउनु नै भएन, त्यसकारण बैठक बस्न सकेन,’ उनले भने । स्थगित भएको गाउँ कार्यपालिकाको बैठक अहिलेसम्म अनिश्चित बन्न पुगेको कार्यपालिकाका एक सदस्यले बताए ।
‘कार्यपालिका बैठक अहिलेसम्म अनिश्चित नै छ, कार्यपालिका बैठक बस्न नसक्दा आसन्न गाउँसभाको तयारी पनि अन्यौलमा छ,’ तर एमालेका साथीहरुसँग सहमतीको प्रयास जारी छ,’ ति सदस्यले भने ।गाउँपालिकाले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा कार्यपालिका बैठक बस्न नसकेपछि जनतामा त्यसको नकारात्मक सन्देश गएको उनले सुनाए ।
‘केही विषयमा कसैको असहमती होला, तर बैठक नै बहिष्कार गर्दा त्यसले जनतामा नकारात्मक असर पुर्याएको छ,’ स्रोतले भन्यो । कुल १७ सदस्यीय रहेको गाउँ कार्यपालिकामा नेकपा एमालेका ११ जना सदस्य छन् । यस्तै नेकपा (माओवादी केन्द्र) का ३, नेपाली कांग्रेसका २ र राप्रपाका १ जना सदस्य रहेका छन् ।
स्रोतका अनुसार गत जेठ २३ गते बसेको गाउँकार्यपालिका बैठकले सर्बसम्मत रुपमा विषयगत समितिहरु बनाउने निर्णय गरेको थियो । उक्त बैठकले गरेको निर्णय सच्याउन एमालेका कार्यपालिका सदस्यले अहिले माग गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले कार्यपालिका बैठक बस्न नसक्दा महत्वपूर्ण विषयमा छलफल हुन नसकेको बताए ।