माधवी शाह
प्लाज्मा ब्यवस्थापक, बाँके ।
कोरोना संक्रमितका लागि ‘प्लाज्मा’ ब्यवस्थापन कसरी गरिरहनु भएको छ ?
कसैलाई प्लाज्मा चाहियो भनेर मलाई फोन आउँछ, सामाजिक सञ्जालमा पनि सूचना पोष्ट भएको हुन्छ, त्यो देखेपछि मैले दातालाई फोन गर्छु । कोरोना संक्रमित भई निको भएको २८ दिन पुगेर ३ महिना ननाघेको दाताहरुको रिपोर्ट पोजेटिभ÷नेगेटिभ छ कि छैन फोन गरेर सोध्छु । त्यसपछि रिपोर्ट छ भन्नु भयो भने उहाँहरुलाई मैले परामर्श दिन्छु, त्यसपछि प्लाज्मा दिनलाई अनुरोध गर्छु ।
प्लाज्मा थेरापी कस्तो खालको विधी हो ?
यो कोरोना पोजेटिभ भएर एकदमै सिकिस्त हुनु भएका बिरामी, जसलाई एन्टीबाईटिक औषधीले पनि काम गर्दैन । एन्टीबडी एकदमै कम भएको बिरामीलाई प्लाज्मा दिईन्छ । कोरोना पोजेटिभ भएर २८ दिन कटेर ३ महिना ननाघेको कोरोना संक्रमितलाई हामीले खबर गर्छौ । खबर गरिसकेपछि उहाँहरुसँग पोजेटिभ र नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्छ । रिपोर्ट भएर मात्र हुदैन, दातालाई बोलाएर हामीले एन्टीबडी चेक गर्छौ । एन्टीबडी चेक गर्दा २.५ भन्दामाथीको रिपोर्ट आयो भने दाताहरु प्लाज्मा दिनलाई तयार हुनुहुन्छ । त्यसपछि हामी रेडक्रसमा लगेर प्लाज्मा दिन्छौं । प्लाज्मा दिने मान्छे सबभन्दा पहिला त निरोगी हुनुपर्छ । दिर्घरोग हुनुहुदैन । प्रेसर, सुगरको औषधी सेवन नगरेको हुनुपर्छ । उमेरको हिसाबमा १८ वर्षदेखी माथी र ४५ वर्षभन्दा मुनिका दातालाई मैले बोलाउने गरेकी छु ।
दातालाई परामर्श दिन कत्तिको कठिनाई हुन्छ ?
परामर्श दिनलाई धेरै गाह्रो हुन्छ । कमजोर छु म प्लाज्मा दिन सक्दैन, म आफै बिरामी भएर सुतिराखेको छु भन्नु हुन्छ कसैले । कोहीले औषधी नखाने भएपनि औषधी खान्छु भन्नुहुन्छ । कसैले फोन स्वीच अफ गरेर बसिदिनु हुन्छ । कसैलाई दुई÷तीन पटक फोन गरेर हरेक पटक सम्झाउनुपर्छ । सम्झाईसकेपछि आउनु हुन्छ । एकै पटक भनेर नआउने पनि स्वभाविक हो ।
तपाई यो काममा किन लाग्नु भएको हो ?
गतवर्षको महामारीमा म स्वयं कोरोना पोजेटिभ भए । कोरोना पोजेटिभ भईसकेपछि मैले घरमा एक्लै भोग्नु परेका कठिनाईहरु, अस्पतालमा भोगेका कठिनाईहरु, म १४ दिनसम्म त भेरी अस्पतालको आईसोलेसनमा बसे । त्यतिबेला मलाई अस्पतालका चिकित्सक, स्टाफ नर्स र तत्कालिन सिडिओले सहयोग गर्नु भएको थियो । त्यो समयमा हाम्रो आफन्त कसैले पनि संक्रमितलाई भेट्न पाउने ब्यवस्था थिएन । एकदमै कठिनाईका साथ १४ दिन बिताएकी थिए । त्यसपछि घरमा आएर म ७ दिन होमआईसोलेसनमा बसे । रिपोर्ट नेगेटिभ आयो । अब म बाँचे मलाई केही हुदैन भन्ने लाग्यो । जुन मैले कठिनाई भोगेको थिए, त्यो कठिनाई भोगिसकेपछि मैले कोरोना संक्रमितका लागि प्लाज्मा ब्यवस्थापन गर्ने सोच बनाए । तत्कालिन सिडिओ रामबहादुर कुरुङवाङ र कोभिड फोकल पर्सन नरेश श्रेष्ठ सरले जिम्मेवारी दिनुभयो । म पनि काम गर्न तयार भए । म लगायत हाम्रो ८÷९ जनाको टिम थियो, त्यसबाट हामीले काम गर्ने मौका पायौं र अहिले म निरन्तर यो काममा लागिरहेको छु ।
प्लाज्मा पाएका सिकिस्त अवस्थाका कोरोना संक्रमित बिरामी निको हुने सम्भावना कत्तिको हुन्छ ?
प्लाज्मा मात्रै नभएर सबै थोक मिल्नुपर्दो रहेछ । पोहोर साल प्लाज्मा पाएर ज्यान जोगियो भनेर मलाई धेरैको फोन आउँथ्यो । अहिले पनि आउन त आईराख्या छ, तर अलिकति हामीलाई दुःख लाग्ने कुरा के छ भनेपछि गतवर्ष कोरोना संक्रमित बिरामी भइसकेपछि घरमा पचाएर बस्छौं भनेर त्यही हिसाबले अहिले पनि कोरोनाको लक्षण देखिदा देखिदै पनि धेरैजसो ब्यक्तिहरु घरमा बस्नु भयो । जब ग्रस्त भएर अक्सिजनको लेभल ५०÷६० सम्म पुग्छ, त्यसपछि अस्पतालमा लगेर कोरोना परिक्षण गर्ने र पोजेटिभ आएपछि डाक्टरको जिम्मा दिएको स्थिती छ । ग्रस्त भइसकेपछि एकदमै अन्तिम अवस्थामा पुगेपछि अस्पतालमा पुर्याउने कारणले गर्दाखेरी अहिले हामी अलिकति असफल भएका छौं । सायद समयमै हामीले अस्पतालमा पुर्याएर उपचार गर्यौ भनेपछि प्लाज्मा पनि सफल हुन्छ र उपचार गर्ने तरिका पनि सफल हुन्छ ।
प्लाज्मा चाहिएको संक्रमितलाई कति समयभित्र प्लाज्मा उपलब्ध गराउन सकिन्छ ?
नामावली अनुसार मैले सबैलाई फोन गर्छु । फोन गरेर उहाँहरुको रक्त समुह के हो भनेर फोनबाट मैले आग्रह गर्छु । रक्त समुह छुट्याइसकेपछि मैले उहाँहरुलाई अनुरोध गर्छु, कृपया तपाई जस्तै कोरोना पोजेटिभ भएका सिकिस्त बिरामीलाई प्लाज्मा चाहियो भने म हजुरलाई आग्रह गर्छु प्लाज्मा दिनको लागि तयार हुनु होला है भनेर मैले आग्रह गर्छु । कसैले त म कमजोर छु दिन मिल्दैन, मेरो परिवारलाई सोध्नुपर्छ भन्नु हुन्छ कसैले ठिकै छ सोचौला भन्नु हुन्छ । सबै कुरा सोधेर दातालाई मैले परामर्श गरिराखेकी हुन्छु, त्यसपछि जब मलाई फोन आउँछ, त्यसपछि दातालाई फोन गर्छु । जतिसक्दो चाडो प्लाज्मा ब्यवस्थापन गर्ने काम हुन्छ ।
तपाई शिक्षण पेशामा आवद्ध हुनुहुन्छ, तर कोरोना महामारीले तपाईलाई समाजसेवी बनायो, कसरी सम्भव भयो ?
म शिक्षण पेशामा लागेको ब्यक्ति हुँ । जब कोरोनाको महामारी आयो, त्यसपछि तुरुन्त लकडाउन भयो । लकडाउन हुनुभन्दा अगाडी म स्कुलमा १० बजेदेखी ४ बजेसम्म काम सकेर त्यसपछि आएर मैले सामाजिक काम गथ्र्ये । जब लकडाउन भयो, त्यो बेलामा पनि म स्कुल जान्थ्ये । बिद्यार्थीहरु नआएपछि दिउँसो २ बजेसम्म ड्युटी हुन्थ्यो । त्यसपछि आएर प्लाज्मा ब्यवस्थापनको काममा लाग्थ्ये । शिक्षिका भएर पनि समाज सेवामा लागेको भनेर कतिले मेरो नराकारात्मक कुरा पनि गरे । जसले नकारात्मक कुरा गथ्र्ये उनीहरु अहिले प्रष्ट भएका छन् । आफ्नो कामलाई बाधा नपर्ने गरी समाजसेवामा लागेको रहेछ भन्ने बुझाई उनीहरुमा भयो । मेरो एउटै उद्देश्य थियो, कोहीपनि कोरोना संक्रमित बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् । मेरो बुवा र मुवाबाट पनि मैले समाजसेवा गर्ने प्रेरणा पाएँ । उहाँहरुकै प्रेरणाले गर्दा दिनदुःखीको सेवा गर्ने मलाई हौसला जागेको हो ।
प्लाज्मा दिएको बिरामी निको हुँदा कस्तो अनुभुती हुन्छ ?
मलाई एकदमै खुसी लाग्छ । समयले मलाई सेवा गर्ने अवसर दियो । जब बिरामीले प्लाज्मा पाउनु हुन्छ, त्यसपछि बिरामीको आफन्त धेरै खुसी हुनुहुन्छ । म्याडम हजुर त भगवान हो भन्नु हुन्छ । कोरोना संक्रमित बिरामी निको भएर घर फर्किदाखेरी पनि फोन गरेर उहाँहरुले धन्यवाद दिदाँ मलाई आनन्दको अनुभुती हुन्छ ।
समाजसेवाका लागि तपाईको आगामी योजना के छ ?
त्यो त समयले बताउने कुरा हो । समयको अनुकुलता हेरेर म समाजसेवामा लाग्नेछु । जुन काम आवश्यक हुन्छ, त्यो हेरेर सक्दो समाजसेवा गर्ने मेरो एकदमै ईच्छा छ र पछिसम्म पनि मेरो यो काम सफल होस् भन्ने कामना गर्दछु । मैले सक्ने सम्मको समय समाज सेवामा लगाउनेछु ।