नेपालगन्ज : स्थानीय तहको निर्वाचनमा कतैबाट पनि सहयोग नभएको नेकपा एमालेले आरोप लगाएको छ । निर्वाचनमा बाँके जिल्लाका प्रमुख निर्वाचन अधिकृत, जिल्ला प्रहरी प्रमुख लगायतका राज्यका निकायबाट ठाडो हस्तक्षेप भएको एमालेको गुनासो छ ।
निर्वाचन सम्पन्न भएको एक महिनापछि बसेको पार्टीको चौथो पूर्ण बैठकको निर्णयबारे जानकारी दिन आइतबार आयोजित पत्रकार भेटघाटमा एमाले नेताले यस्तो आरोप लगाएका हुन् । ‘नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का हाम्रो पार्टीका वडाअध्यक्षका उम्मेदवार अजय पाठकको उम्मेदवारी खारेजी गर्नु नै असहयोगको एउटा उदाहरण हो,’ एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले भने ।
खजुरा गाउँपालिका वडा नम्बर ४ को निर्वाचन परिणाम र नेपालगन्ज १८ मा एमालेका उम्मेदवार निर्वाचित भएको ८ घण्टापछि मात्र परिणाम घोषणा हुनुले शंका उत्पन्न गराएको उनले बताए । यस्तै किसानका लागि तत्काल सस्तो, सहज रुपमा धानको बीउ उपलब्ध गराउन स्थानीय निकाय र सरोकारवालासँग एमालेले माग गरेको छ ।
किसानका लागि अति आवश्यकीय मल उपलब्ध गराउन सरकारसँग एमालेको जोडदार माग छ । किसानले खरिद गरेको मललाई स्थानीय प्रशासनले गर्ने धर पकड र दुब्र्यवहार तत्काल बन्द गर्न आग्रह गरेको छ ।
कृषि सिचाइँका लागि नियमित रुपमा बिद्युत आपुर्ती गर्नुका साथै लोडसेडिङ बन्द गर्न माग गरिएको छ । बाँके जिल्लाका सबै स्थानीय तहले नीति कार्यक्रम र बजेट विनियोजन गर्दा श्रमजिवी, गरिब, विपन्न, दलित, मुस्लिम, आदीवासी जनजाती र मधेसीलाई प्रमुख प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।
पत्रकार भेटघाटमा एमालेका केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सुर्य ढकाल, केन्द्रीय सदस्य एवम् बाँके सह-इन्चार्जद्धय मोहम्मद हारुन र दीपा शर्मा, लुम्बिनी प्रदेश सदस्य शिव डोटेल, जिल्ला उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री लगायतको उपस्थिती रहेको थियो ।