नेपालगन्ज : बाढीको समयमा हुने खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन बाँकेमा प्रदेश स्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ । बाँकेको सिधनियास्थित राप्ती नदीमा सोमबार यस्तो अभ्यास गरिएको हो ।
आन्तरीक मामिला तथा संचार मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस जनशक्तिको सहभागिता तथा आइएमओको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास गरिएको हो ।
प्रदेश, जिल्ला तथा स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन तथा विपद्को काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी वनाउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्माले बताए ।
विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने समेत उनले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीको समयमा हुने घाइतेको खोज तथा उद्धार, बेपत्ताको खोजी, घाइतेको प्राथमिक तथा मेडीकल उपचार विधिलाई अभ्यासमा देखाईएको थियो ।
रवर बोट, मोटर बोट, गोताखोर लगाएतको प्रयाग गरी गरिएको अभ्यासका क्रममा प्रदेश सांसद कृष्णा केसी, नेपाली सेनाका उपरथी उत्तम कुमार विष्ट, सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक दिग्विजय सुवेदी, जिल्ला समन्वय उपप्रमुख सिता कार्की, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, जिल्लाका सुरक्षा प्रमुख, गृह तथा संघिय मामिला तथा सामान्य मन्त्रालयका प्रतिनिधी, विषयगत कार्यालयका प्रमुख, रेडक्रस बाँकेका पदाधिकारीको सहभागिता रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।