नेपालगन्ज : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्युरा खान्छन । यसवेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।
शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्तै, शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
निस्कने वेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको भनाइ छ ।
आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । पखाला लागेका वेला दहीच्युरा खाएमा औषधिको काम गर्छ । यसैले दहीच्युरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ।
यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । यस्तै, विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ ।