नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न ठाउँमा अबरुद्ध नाला खुलाउन नगर प्रमुख प्रशान्त विष्ट आफै खटिएका छन् । नेपालगन्जमा बुधबार बिहानपख परेको अबिरल वर्षाका कारण उपमहानगर क्षेत्रका केही स्थान जलमग्न बनेका थिए ।
पानीको निकास खोल्न नगर प्रमुख विष्ट जेसिबी र कर्मचारीलाई लिएर आफै खटिएका हुन् । वर्षायामको समयमा हरेक वर्ष नेपालगन्जमा नाला अबरुद्ध हुने र केही स्थान जलाम्य हुने गर्छन् । एशियाली विकास बैंकको सहयोगमा एकिकृत शहरी विकास आयोजनाले सडक र नाला निर्माण गरेको थियो ।
सडक र नाला निर्माण भएपछि नेपालगन्जको डुबान समस्या केही कम भएपनि पूर्ण रुपले समाधान हुन सकेको छैन । जसले गर्दा हरेक वर्ष सामान्य वर्षा भएपनि केही स्थान जलाम्य हुन्छन् । एक्कासी वर्षा भएपनि नेपालगन्जको वडा नम्बर ४, ६, १८, २० लगायत वडामा पानी जलाम्य भएको थियो । पछिल्लो ६ घण्टाभित्रमा बाँकेमा १ सय ५० मिलिमिटर वर्षा भएको छ ।
एकाबिहानै नगर प्रमुख विष्ट नाला खुलाउन पुगेपछि स्थानीय बासिन्दा हर्षित भएका थिए । नगर प्रमुख विष्टले नेपालगन्ज ४ स्थित न्युरोड क्षेत्रमा नाला अबरुद्ध हुँदा केहीबेर सम्म पानी जमेको र जेसिबीको सहायताले नाला सफा गरेपछि पानीको निकास खुलेको बताए ।
यस्तै वडा नम्बर ६ स्थित बसपार्कदेखि पुरैनीतर्फ जाने बाटोमा पनि पानीको निकास थुनिदाँ जलाम्य भएको र जेसिबीको सहायताले खोलिएको बताए । ‘वर्षायाम सुरु हुनुभन्दा अगाडी हामीले नाला सफा गरेका हौं, तरपनि कतिपय ठाउँमा पानीको निकास अबरुद्ध छ, जसले गर्दा सामान्य वर्षा हुँदा पनि पानी जम्ने समस्या छ,’ उनले भने ।
नेपालगन्जमा वर्षा हुँदा आफुलाई निन्द्रा नलाग्ने नगर प्रमुख विष्टले बताए । ‘वर्षा हुने वित्तिकै मलाई निन्द्रा लाग्दैन, जनताको काम गर्नका लागि म आएको हुँ, त्यसकारण यसरी नै जनताको काम गर्न पाउँदा मलाई आनन्दको महसुस हुन्छ,’ विष्टले भने ।