बाँके (डुडुवा) : डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) निकट जनप्रतिनिधीले 'बहुमतको दम्भ' देखाएर कार्यपालिका बैठक अवरोध गर्दै आएको तथ्य खुलेको छ ।
उक्त गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष र एक जना मात्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था छ ।
तर, उक्त कानूनी व्यवस्थालाई अध्ययन नै नगरि कार्यसूचि विपरित एकैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक सञ्चालन गर्नमा कठिनाई उत्पन्न भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् ।
‘कार्यपालिकाको जेठ ३० गते बसेको पहिलो बैठकमा धन्यवाद सहितको प्रस्ताव पास भएर सम्पन भएको र दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसेकोमा कानून अनुसार अध्यक्षबाट पेश हुने प्रस्ताव पेश गरिएको विषयमा छलफल नगरि अनावश्यक विषयमा वादविवाद गरि प्रस्तुत प्रस्तावमा छलफल नै गर्न नदिइ कार्यपालिका सदस्यले बाहिरी विषयको प्रस्ताव ल्याएर बहुमत भन्दै बैठक नै सुरु हुन नदिएको अवस्थामा गाउँपालिकाको निति, कार्यक्रम र बजेट समेत अनिश्चित बनेको छ,’ गाउँपालिकाद्धारा जारी प्रेस नोटमा जनाइएको छ ।
कार्यपालिकाको प्रथम बैठक जेठ ३१ गते, दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसे पनि पहिलो बैठक बाहेक अन्य दुई वटा बैठकमा विषय प्रवेश नभई स्थागित भएको थियो ।
कार्यपालिका बैठकका लागि फोन र एसएमएस मार्फत सबै सदस्यलाई खबर गरि बैठकको एजेण्डा समेत प्रस्तुत गरि सभा सञ्चालन तथा विषयगत समिति गठन, बजेटको तयारी लगायतका विषयमा निर्णय गर्दा त्यसप्रति कुनै चासो नदिई अनावश्यक विवाद सृजना गरेकाले समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष चौधरीले बताए । गाउँपालिकाको समग्र हितका लागि पहिला नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भन्दै अनावश्यक वाद विवाद नगर्न आग्रह गरे ।
एमाले र जसपाका निर्वाचित पदाधिकारी बैठकमा उपस्थित भएर पनि प्रक्रिया अनुसार छलफलमा सहभागी नभएको र बाहिर विभिन्न किसिमका झुठ्ठा अफवाह फैलाउने र आरोप-प्रत्यारोप लगाउने कार्य गलत भएको अध्यक्ष चौधरीले बताए ।
‘जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नबनाउँदा अनाहकमा जनताले दुःख पाउने संकेत देखिन्छ, कार्यपालिकाको बैठक नबस्दा गाउँपालिकाले प्रवाह गर्ने स्वास्थ्य, पशु राजश्व शुल्क लगायतका विभिन्न सेवा प्रभावित भएका छन्,’ चौधरीले भने ।
एमाले र जसपाले बहुमत भएको देखाउँदै कार्यपालिकाको बैठकमा हुल हुज्जतका साथ अन्य कार्यकर्ता समेत ल्याएर बैठक भाँड्ने कार्य भइरहेको हँुदा आगामी दिनमा त्यस्ता गतिविधी नगर्न अध्यक्ष चौधरीले आग्रह गरेका छन् ।