नेपालगन्ज : प्रजातन्त्र प्राप्तीको आन्दोलनमा योगदान पुर्याएका प्रजातन्त्र सेनानीलाई गणेशमान फाउण्डेशनले कदर पत्रसहित मरणोपरान्त सम्मान गरेको छ । २००७ सालको आन्दोलनमा योगदान पुर्याएका प्रजातन्त्र सेनानी स्वर्गिय गणेश कर्माचार्य र स्वर्गिय चम्पा थारुलाई नगद २५ हजारसहित मरणोपरान्त सम्मान गरिएको हो ।
नेपालमा प्रजातन्त्र स्थापना एवम् सम्र्वद्धनका निम्ती भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनमा सक्रिय सहभागी भई सत्यनिष्ठा, त्याग र लोकहितका निम्ती जीवनभर सर्मपित रही आर्दश स्थापित गरेकाले कदर पत्र प्रदान गरिएको उल्लेख छ ।
कदर पत्रमा फाउण्डेशनका केन्द्रिय कार्यकारी अध्यक्ष प्रकाशमान सिंह, महासचिव घनेन्द्रपुरुष ढकाल र कार्यक्रम संयोजक प्रभाषमान सिंहले हस्ताक्षर गरेका छन् । नेपालगन्जमा बुधबार एक कार्यक्रमका बीच स्वर्गिय कर्माचार्यका छोरा विशाल कर्माचार्य र स्वर्गिय थारुका नाती जंगबहादुर चौधरीलाई चेक र सम्मान पत्र प्रदान गरेका हुन् ।
सो क्रममा कार्यक्रमका प्रमुख अतिथी एवम् प्रजातन्त्र सेनानी लक्ष्मणप्रसाद वर्माले प्रजातन्त्र प्राप्तीको आन्दोलनमा योगदान पुर्याएका ब्यक्तिलाई नेपाली कांग्रेसले अझै चिन्न नसकेको बताए । प्रजातन्त्र प्राप्तीका लागि विगतमा प्रजातन्त्र सेनानीले पुर्याएको योगदानको कुनै कदर गर्न नसकेको उनको गुनासो छ ।
सो क्रममा फाउण्डेशन बाँकेका सल्लाहकार हेमन्त कर्माचार्यले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै स्वागत गरेका थिए । प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गर्ने परिपाटीको थालनी गरिएको उनले बताए ।
गणेशमान फाउण्डेशन बाँकेका अध्यक्ष अनिलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, पुर्व सांसद कैलाशनाथ गुप्ता, जिल्ला उपसभापति कृष्ण कार्की, कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, निर्वतमान उपसभापति सुनिलनरसिंह राणा, महासमिति सदस्य मेघराज ओली, कांग्रेस बाँकेका सहसचिव विनोद थारु, सदस्य सुशिला कार्की, कांग्रेस नेता सुदिपनरसिंह राणा, मो. कादिर अन्सारी, तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, लगायतको सहभागिता रहेको थियो ।