नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा दुई जना चिकित्सकसहित ७ जनाले अग्रिम हाजिरी गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार अस्पतालमा छड्के जाँच गर्दा २ चिकित्सक सहित ४ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीले अस्पतालमा अग्रिम हाजिरी गरेको पाइएको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अस्पतालका डा. सुरेशकुमार नाग, डाक्टर निर्मल शाक्यसहित सात जनाले अग्रिम हाजिरी गरेको पाइएको बताए । डा. शाक्यको हाजिरीको माथि टेप टाँसिएको छ ।
त्यस्तै डा. नागले २० गते अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको भेटिएको घटना यसअघि नै बाहिरी सकेको छ । अग्रिम हाजिरी गरेको पाइएपछि अस्पताल समितिले जिल्ला प्रशासन कार्यालय बाँकेमा कारबाहीका लागि लेखि पठाइसकेको छ । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ ।
घटना बाहिरीएपछि प्रशासनले अस्पतालमा गरेको आकस्मिक निरीक्षणमा २ सय ९० जना कर्मचारी छड्केकमा परेका छन् । कुल ३ सय ७८ जना कर्मचारी भेरी अस्पतालमा रहेका छन् । जसमध्ये २ सय ९० जना छड्केमा परेका थिए ।
प्रमुख जिल्ला अधिकारी खत्रीले भेरी अस्पतालमामा केहीले अग्रिम हाजिर गर्नेदेखि हाजिरी नै नगरेको पाइएको बताए । ‘भेरीका कर्मचारीले मन लागेको बेला हाजिरी गर्ने गरेको देखियो, केहीले या अग्रिम र केहीले हाजिरी नै गरेका छैनन्,’ ’ खत्रीले भने ।
जिल्ला प्रशासन कार्यालयले अग्रिम हाजिरीका विषयमा अस्पताल प्रशासनलाई स्पष्टीकरण सोध्ने जनाएको छ । यसमा अस्पताल प्रशासन कै कमजोरी रहेको प्रजिख खत्रीले बताएका छन् । ‘छड्केमा परेका कर्मचारीलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा लेखेर पठाउने छौं,’ उनले भने ।