बाँके(नरैनापुर) : बाँकेको नरैनापुर गाउँपालिकाकाले सोमबार नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईलाई बधाई तथा शुभकामना दिएको छ । जनता समाजवादी पार्टी(जसपा)को तर्फबाट राई हालै मन्त्री पदमा नियुक्त भएका हुन् ।
मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आईपुगेका राईलाई नरैनापुर गाउँपालिकाले औपचारिक कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नरैनापुर बासीहरुका कारण आफु राजनितिमा सफल भएको बताउँदै उनले नरैनापुरबासीको ऋण जीवनको अन्तिम श्वास सम्म समेत तिर्न नसक्ने बताए । ‘नरैनापुरलाई दुर्गमको रेखा मुनिबाट हटाएर सुगम बनाउनेतर्फ भुमिका खेल्नेछु,’ उनले भने ।
भौतिक संरचना निर्माणका लागि १५ दिन भित्रै ४० करोड बजेट विनियोजन गरेर शिलान्यास गर्ने प्रतिबद्धता जनाए । मन्त्री राईलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले दुर्गम ठाउँका रुपमा नरैनापुरको परिभाषा बदल्न जरुरी रहेको बताए ।
उनले भने, ‘नरैनापुर जस्तो विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्री राईसँग म जोडदार माग गर्दछु ।’ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, योजना शाखा प्रमुख भरत महतो, लेखापाल प्रकाश अधिकारी लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा बाँकेका अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दीन राई, सचिव राजेन्द्र विश्वकर्मा लगायत अतिथी, पार्टीका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।