नेपालगन्ज : राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पुर्वी नहरमा कर्मचारीको ‘उच्च निगरानी’मा पानी छाडेको छ । बाँकेको अगैयास्थित हेडवर्कस्बाट राप्ती नदीको पानी पुर्वी नहरमा खसालेर परिक्षण गरिएको हो । परिक्षण गर्दा पुर्वी मुल नहरलाई कर्मचारी, प्राविधिकले उच्च निगरानीमा राखेका छन् ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक डा. सन्तोष कैनीले परिक्षणमा आएपछि पुर्वी नहर कर्मचारीको निगरानीमा रहेको बताए । ‘असार २८ गतेदेखी करिव ७ क्वीमेक पानी मुल नहरमा छाडेका छौं, नहरको निगरानी गर्न अगैयामा दुई जना इन्जिनियर सहितको एउटा प्राविधिक टोली र फत्तेपुरमा पनि दुई जना इन्जिनियर सहितको अर्को टोली खटिएको छ, हामी निरन्तर मनिटरिङमा छौं,’ उनले भने ।
परिक्षण गर्ने क्रममा पाँच वर्षअघि सामान्य पानीले पनि सिक्टाको पश्चिम मुल नहर भत्किएको थियो । मुल नहर परिक्षणमै भत्किएपछि आयोजनाको गुणस्तरमाथी प्रश्न उठेको थियो । पश्चिम मुल नहरको जस्तो समस्या आउन नदिन कर्मचारीले पुर्वी नहरलाई उच्च निगरानीमा राखेका हुन् । तर अहिलेसम्म कुनै समस्या नदेखिएको आयोजना निर्देशक कैनीले बताए ।
‘पुर्वी नहरमा अहिलेसम्म त्यस्तो कुनै समस्या आएको छैन, पानी निरन्तर चलाइरहेका छौं, पानी पाउँदा किसान धेरै खुसी छन्,’ उनले थपे । आयोजना निर्देशक कैनीका अनुसार पुर्वी मुल नहरको क्षमता १४ क्युमेक रहेकोमा बैजापुरस्थित राजकुलोमा ७ क्युमेक र फत्तेपुर सिँचाइ प्रणालीमा ३.२९ क्युमेक पानी छाडिएको छ । पुर्वी मुल नहरमार्फत ९ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।
उक्त नहरको राजकुलोबाट १ हजार हेक्टर र फत्तेपुर सिँचाइ प्रणालीबाट २ हजार हेक्टर जमिनमा सिँचाइ भइरहेको आयोजना निर्देशक कैनीले जिकिर गरे । अहिले खडेरी भएकाले वर्षा नहुँदासम्म पुर्वी नहरमा पानी छाड्ने आयोजना कार्यालयले जनाएको छ ।
पुर्वी नहर कुल ५३.५ किलोमिटर निर्माण गर्नुपर्नेमा अहिलेसम्म अधुरै रहेको छ । पुर्वी मुल नहर निर्माण गर्न कालिका कुमार जेभीले २०७४ साउनमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्य सम्पन्न गर्न २०७९ माघ २९ गते सम्मको म्याद रहेको आयोजना कार्यालयले जनाएको छ ।
कुल ३ अर्व ३० करोड २१ लाख ३९ हजार ५ सय १९ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म ठेकेदार कम्पनीले २ अर्व ८४ करोड ३८ लाख ९ हजार ५ सय ३६ रुपैयाँ भुक्तानी लिइसकेको छ । उक्त नहरमा हालसम्म ८६ प्रतिशत मात्रै काम सम्पन्न भएको पाइएको छ । पुर्वी मुल नहरको फत्तेपुर शाखासम्म निर्माण सम्पन्न भएपनि २०७९ असार अन्तिमदेखी नरैनापुर खण्डको सर्वेक्षण कार्य सुरु भएको कार्यालयले जनाएको छ ।