नेपालगन्ज : स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा जिम्मेवार बनेर काम गर्न निर्देशन दिएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालको १३२ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले भेरी अस्पतालका चिकित्सकले अग्रिम हाजिर गरेको प्रसङ्गमा निकाल्दै यस्तो बताएका हुन् । राज्यले काममा खटाइसकेपछि इमान्दारी पुर्वक काम गर्नुपर्ने उनको भनाई छ ।
संघीय सरकार मातहतमा रहेका देशभरका अस्पताललाई ‘रेफरल’ नबनाउने सरकारको प्रतिवद्धता रहेको बताएका छन् । सरकारी अस्पतालमै पर्याप्त सेवा, सुविधा दिएर आफ्नै ठाउँमा बिरामीको उपचार गर्नमा सरकार प्रतिवद्ध रहेको उनले बताए ।
आधारभुत स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको भन्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको दायित्व भएको बताए । ‘भेरी अस्पतालको इतिहास नै फरक छ, बाँके मात्र नभएर पश्चिमका धेरै जिल्लाका मान्छे आएर उपचार गराउने ठाउँ हो,’ केसी भने ‘देशभर संघिय सरकार मातहत रहेका अस्पताललाई अब कुनैपनि मानेमा रेफरल अस्पताल नबनाउने सरकार प्रतिवद्ध छ ।’ अस्पतालमा सिमित जनशक्तिका बाबजुद पनि बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । यसका लागि सरकारले थुपैै्र डाक्टर र नर्सलाई करार तथा ज्यालादारीमा खटाएको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्रालयका विज्ञ डाक्टर श्यामसुन्दर यादव, राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणा, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्जका उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, एमाले बाँकेका सचिव रत्न खत्री, माओवादी केन्द्रका नेता डिल्ली बराल, पूर्वमेयर विजयकुमार गुप्ता, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बद्री चापागाई, पूर्वमेसु डा. वीरेन्द्रबहादुर चन्द लगायतले बोलेका थिए ।
सो क्रममा अस्पताल विकास समितिका सदस्यद्धय कृष्णप्रसाद श्रेष्ठ र धनराम ओली, समितिका पुर्वअध्यक्ष वेदप्रसाद आचार्य, पुर्व मेसु डाक्टर पिताम्बर सुवेदी, डा. प्रकाश थापा, वरिष्ठ फिजिसियन डाक्टर संकेत रिसाल, नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नसिंङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओली लगायत अतिथीको पनि सहभागिता रहेको थियो । वार्षिक उत्सव समारोहमा विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै अस्पताल सञ्चालनमा योगदान पुर्याए वापत पुर्वमेसु, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।



