नेपालगन्ज : बिरामी बुवा लिएर बाँकेको राप्ती सोनारी-५ बिनौनाका लक्ष्मण थारू बिहीबार बिहान ११ बजेतिर भेरी अस्पताल पुगे । उच्च रक्तचापका बिरामी उनका बुवाको स्वास्थ्य जाँच गरिसकेपछि डाक्टरले तत्कालै सिटी स्क्यान गराउन सल्लाह दिए ।
डाक्टरको सल्लाहअनुसार लक्ष्मण भेरी अस्पतालकै सिटी स्क्यान विभागमा पुगे । तर त्यहाँ सिटी स्क्यान गर्ने कर्मचारी थिएनन् । ड्युटी छाडेरै कर्मचारी बाहिर निस्केका थिए । त्यसपछि लक्ष्मण सिटी स्क्यान गर्ने कर्मचारीलाई खोज्न भौंतारिरहे । अस्पताल परिसरमा विभागका रेडियोग्राफर सञ्जीवकुमार मिश्र भेटिए । तर उनले सिटी स्क्यान गर्न नसक्ने अनेक बहानाबाजी गरे । ‘उहाँले कहिले भोलि आउनुस्, कहिले मसँग सिटी स्क्यान कक्षको चाबी छैनजस्ता बहानाबाजी गर्नुभयो, धेरै अनुरोध गर्दा पनि उहाँले सिटी स्क्यान गर्न मान्नुभएन,’ लक्ष्मणले भने ।
रेडियोग्राफर मिश्रले सिटी स्क्यान गर्न नमानेपछि लक्ष्मणले अस्पतालको माथिल्लो निकायमा गुनासो पोखे । उनी नेपाली कांग्रेस प्रदेश १ ‘क’ बाँकेका सभापति हुन् । तर कर्मचारीसँग भने लक्ष्मणले आफ्नो परिचय खुलाएनन् । यो कुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंसम्म पुग्यो । तीन घन्टापछि आएर रेडियोग्राफर मिश्रले बिरामीको सिटी स्क्यान गरिदिए । त्यतिबेलासम्म लक्ष्मणका ८५ वर्षका बुवा लोहारी थारूको अवस्था गम्भीर भइसकेको थियो ।
अस्पतालमा पुगेका बिरामीका आफन्त कर्मचारी र स्वास्थ्यकर्मीको व्यवहारबाट दिक्क हुन्छन । ‘भेरी अस्पतालको सिटी स्क्यान मेसिन देखाउन मात्रै रहेछ,’ लक्ष्मणले भने, ‘बिरामीलाई निजी अस्पताल र क्लिनिकमा जान बाध्य पार्ने नियतले कर्मचारीले सास्ती दिँदारहेछन, सेटिङमा सिटी स्क्यान गर्न बाहिर निजीमा पठाइँदोरहेछ ।’ सरकारले भेरी अस्पताललाई जति सुविधासम्पन्न गराउने प्रयास गरे पनि कर्मचारीरस्वास्थ्यकर्मीको बानी र व्यवहारमा कत्ति पनि सुधार नआएको लक्ष्मण बताउँछन ।
भेरी अस्पताल आएका टीकापुरका गुरुभक्त तिवारी दुई दिनदेखि सेवा नपाएर भौंतारिरहेका छन । मुटु रोगसम्बन्धी समस्या भएका आफन्तलाई लिएर आएका उनले सेवा नपाएको दुई दिन भइसक्यो । ‘मुटुको अप्रेसन गरेको बिरामीलाई भेरी अस्पताल ल्याएँ, दुई दिनदेखि जाँच भएको छैन, डाक्टरलाई भेट्न पाएका छैनौं,’ उनले दुःखेसो पोखे । अस्पतालभित्र रहेको इसिजी सेवा दुई दिनदेखि बन्द रहेको तिवारीले बताए । ‘अस्पतालमा कोही कर्मचारी छैनन, जिम्मेवार व्यक्तिलाई भन्दा पनि कसैले मतलब गरेनन,’ उनले भने ।
टीकापुर अस्पतालले रेफर गरेपछि कैलालीकी मथुरा रावल बिरामी आमालाई लिएर भेरी अस्पताल आइन । भेरीमा दुई दिनदेखि उनले पनि आमाको उपचार गराउन सकेकी छैनन । भेरी अस्पतालमा बिहीबार बिहान १० बजेतिर आइपुगेकी उनी बिल काट्न लाममा उभिइन । उनले लाममा बिल काट्न नपाउँदै इसिजी कक्ष बन्द भयो । ओपिडी कक्षमा डाक्टर पनि निर्धारित समयसम्म बसेनन ।
पहिलो दिन उपचार गराउन नपाएपछि उनी दोस्रो दिन शुक्रबार पुनः अस्पतालमा आमालाई लिएर पुगिन । शुक्रबार पनि अस्पतालको सेवा सहज रूपमा पाउन नसकेको उनको गुनासो छ । ‘राम्रो उपचार पाइएला भनेर भेरी अस्पताल आएका हौं तर यहाँ आएपछि झनै दुःख पाइयो,’ उनले भनिन, ‘यहाँ त राम्रा मान्छे पनि बिरामी भएर फर्किनुपर्ने रहेछ ।’
भेरी अस्पतालमा जन्मेका राप्ती सोनारी-५ बिनौनाका रवि रञ्जनका नवजात शिशुको स्वास्थ्य अवस्था कमजोर देखिएपछि डाक्टरले ‘एनआइसियुुमा राख्न सल्लाह दिए । आमा प्रसूति कक्षमा थिइन । रञ्जनले शिशुलाई अस्पतालकै एनआइसियु कक्षमा राखिदिन डाक्टर र नर्ससँग धेरै अनुरोध गरे । तर एनआइसियु कक्षमा भर्ना नपाएपछि उनले चर्को गर्मीमा शिशु च्यापेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको एनआइसियुमा लगेर भर्ना गरे ।
‘भेरीका डाक्टर र नर्सले एनआइसियु कक्ष खाली छैन, तपाईंको बच्चालाई बाहिर लैजानुस् भनेर ताकेता गरे,’ परिवारका सदस्यलाई उद्धृत गर्दै एक आफन्तले भने, ‘यत्रो ठुलो सरकारी अस्पतालको विश्वास गरेर आइयो तर यहाँ आइसकेपछि डाक्टर र कर्मचारीको व्यवहारबाट दुःख पाइयो ।’
पश्चिम नेपालका गरिब तथा विपन्न समुदायले भरोसा गर्ने सरकारी अस्पताल हो, भेरी । भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले क्रमशः सेवासुविधामा थप्दै लगेको छ । अस्पतालको भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण थपिँदै गए पनि उपचार गराउन आउने बिरामीले त्यसको अनुभूति गर्न सकेका छैनन । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीको बानी र व्यवहारमा परिवर्तन आउन सकेको छैन । अस्पतालमा सुशासन र जवाफदेहिताको कमी देखिएको सेवाग्राही बताउँछन ।
अस्पतालका कर्मचारीको निजी अस्पताल, क्लिनिक तथा प्रयोगशालासँग सेटिङ हुन्छ । यसको प्रत्यक्ष मारमा सेवाग्राही परिरहेका छन । सरकारले भेरीलाई विशिष्टीकृत अस्पताल बनाउने योजना अगाडि बढाइरहेको छ । तर अस्पतालले बिरामीलाई सामान्य खालका सेवा पनि दिन सकेको छैन । अस्पतालमा चरम बेथिति छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईं भने बिरामीको उपचारमा अस्पतालले कुनै कन्जुस्याइँ नगरेको तर्क गर्छन् ।
‘पहिलाभन्दा अहिले बिरामीको चाप धेरै छ, एकैपटक धेरै बिरामी आउँदा सेवा दिन समस्या हुनु स्वाभाविक हो,’ उनले भने । अस्पतालले प्रदान गर्ने ओपिडीबाहेक अन्य सेवा २४ सै घण्टा खुला रहने चापागाईं बताउँछन् । ‘बिरामीलाई जतिबेला आवश्यक पर्छ, त्यो बेला हाम्रा कर्मचारी उपस्थित हुन्छन,’ उनले भने ।
अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ भने कतिपय कर्मचारीमा अनुशासन नभएको बताउँछन । अस्पतालभित्रका बेथिति हटाउने अभियान थालेका श्रेष्ठले भने, ‘अस्पतालमा हरेक सेवासुविधा थपिँदै गएको छ तर कर्मचारीमा अनुशासन भएन, यसले गर्दा बिरामीले सहज रूपमा उपचार पाउन समस्या भइरहेको छ, त्यो कुरा हामीले पनि भोगिरहेका छौं ।’ -नागरिक दैनिकबाट