नेपालगन्ज : बाँके जिल्लामा मात्रै करोडौं करोड बेरुजु आउँदा नि छाती फुलाएर नेता हुँ भन्दै जनताका बीचमा जान कत्तिपनि अड लाग्दैन नेता जि ? बेरुजु फच्र्यौट गर्नु पर्छ कि पर्दैन ? राज्यले बेरुजु फछर्यौट गर्न कानुनी तवरबाटै छिटो भन्दा छिटो बेरुजुकर्ता मुर्धन्यहरुलाई बाध्य बनाउनु पर्छ कि पर्दैन ?
कि तैचुप मैचुप हुने हो सरकारहरु ? यस्तै-यस्तै बेथितीले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको नजरमा गन्धाएको हो । बोली र भाषणमा मात्र सपनाको संसार देखाउँदैमा लोकतान्त्रिक गणतन्त्रले जनताको मनमस्तिकमा राज गर्दैन ।
जनताको मन-मस्तिस्कमा कुनैपनि ब्यवस्थाले राज गर्न त रुपान्तरण अनि परिवर्तनको स्वर्णिम अनुभुति भुई मान्छेले गर्न सक्नु पर्दछ । तर, दुर्भाग्य नेपाली जनताको लामो संघर्ष अनि बलिदानीबाट प्राप्त संसारकै यतिबेलाको लोकप्रिय लोकतान्त्रिक शासन प्रणाली अधिकांश कुपात्रै कुपात्रहरुको बोलवाला को हातमा पुगेर जनताको नजरमा दिन प्रतिदिन बदनाम साबित हुदैछ ।
यो ब्यवस्थाका हर्ताकर्ताहरुको अन्यायपुर्ण कदमहरुका विरुद्ध जनता विभिन्न कोणबाट आन्दोलित छन् । जनताको त्यसै आक्रोशको झिल्काहरु पुर्बको धरान, देशको राजधानी काठमाडौं अनि पश्चिम नेपालको धनगढीबाट उदाएका हुन् ।

दलिय राजनीतिमा विश्वास राख्ने नेपाली जनताको लागि यि झिल्काहरुको विजारोपण त्यसै भएको होइन होला नि ? दलको खोल ओढेर स्थानीयदेखी केन्द्रसम्म हरेक ठाउँमा पाएसम्म बेरुजु, अनियमितता, चरम भ्रष्टाचार, दलाली, कानुनी प्रक्रिया मिलायर वा नमिलाएर लुटतन्त्र मच्चाउनेहरुलाई समकालिन नेपाली राजनीतिक दलका तलदेखी माथिल्लो ओहोदा सम्मका नेतृत्वले काखी च्याप्दै लोकतान्त्रिक शासन प्रणालीको मुलभुत सिद्धान्तको घाँटी रेट्ने काम पैसाको चाङमा सुतेर गर्दै जाँदा लोकतन्त्रका आधारभुत स्तम्भ कमजोर बन्दै मात्र गएन ।
नेपाल देशको अस्मिता पनि हरेक कोणबाट नेतृत्वकै कारण चौतर्फी घेराबन्दीमा पारिदै छ । हेक्का रहोस् स्वार्थै स्वार्थको चौघेरामा परेका समकालिन नेपालका नेतृत्वहरु जनताले जवाफ खोजिराछन् ।
लोकतन्त्रले देखेको समुन्नत नेपाल, कानुनी सर्बोच्चताको नेपाल, अहिलेको युगसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष नेपाली, विकासको तीब्र गतिमा हुईकिएको नेपाल, उपयुक्त ब्यक्तिलाई उपयुक्त स्थानको जिम्मेवारी पाउने नेपाल अनि सुनौलो, समृद्ध नेपालको सपना कहिले पुरा हुन्छ मैमत्ता हातिझैका तीन खुट्टे सरकार केन्द्र, प्रदेश, स्थानीय ? कि यस्तै-यस्तै बेरुजु, भ्रष्टाचार, दलाली तन्त्रमै देश र जनताको जिवनमा आमुल परिवर्तन ल्याउन स्वर्णिम सपना बोकेको लोकतन्त्रलाई घिटिघिटी बनाइरहने हो ?
यदी त्यसो हो भने धरान, काठमाडौ, धनगढीका सहरबाट मात्रै होइन अब दुरदरारका ओझेलमा परेका गाउँका बस्ति बस्तीबाट जनआक्रोशको झिल्काले अन्यासै नेतृत्वका कारण नागरिकले सबैभन्दा बढी रुचाएको लोकतान्त्रिक पद्धति नै धरापमा पर्दैछ । समयमै दलिय स्वार्थभन्दा माथी उठी सबै लोकतन्त्रमा चिन्ता र चासो राख्ने चिन्तकहरुले आ–आफ्नो स्थानबाट खबरदारी गर्न अब ढिलाई गर्नु भनेको आफ्नो भविष्यलाई अन्धकारको कालो बादलमा अझै मडराउँदै दुःख अन्त्यको मार्ग खोज्नु हो ।
बाँके जिल्लाको यो बेरुजु एउटा प्रतिनिधी पात्रको नमुना मात्र हो । यस्ता बेरुजु, अनियमितता भ्रष्टाचार, बेथिती, दलाली अनि घुसखोरी तन्त्रका चाङ देशैभरी अनगिन्ती छन् । हामीले देखेको मर्यादित लोकतन्त्रको सपना हो, जसका मर्यादित मुल्य, मान्यता हुन्छन्, तर यहाँ त लोकतन्त्रको खोलओडेर लुटतन्त्र पो मच्चिरा छ त ? जन निर्वाचित पहिलो प्रधानमन्त्री विपी कोइरालाले भनेझैं सत्ताको रमझममा फसेको अवस्थामा चारैतिर स्वार्थको महाजाल विछ्यायर सुकिला मुकिलाले नेतृत्वलाई कब्जामा लिने छन्, त्यो बेला सच्चा लोकतन्त्रवादीले पुनः आन्दोलन गर्नु पर्नेछ ।
अब विपीको त्यो दुरदर्शी चिन्तनलाई आत्मसात गर्दै दलभित्र अथवा सिंगो लोकतन्त्रभित्र जनबलमा स्थापित लोकतान्त्रिक शासनलाई जोगाउन सभ्य अनि सकारात्मक उर्जा सहितको आन्दोलन जरुरी भइसक्यो । सबैको जय होस् !