नेपालगन्ज : प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै भावी उम्मेदवारबारे बाँकेमा चर्चा सुरु हुन थालेको छ । बाँकेको क्षेत्र १, २ र ३ मा दलहरुका तर्फबाट र स्वतन्त्रबाट कस्ता उम्मेदवार मैदानमा आउँलान् ? भन्नेबारे आम रुपमा चासो हुने गरेको छ ।
बाँके क्षेत्र नम्बर २ पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति स्वर्गिय सुशिल कोइराला चुनाव लड्दै आएको क्षेत्र हो । उक्त क्षेत्रमा जुन सुकै दलले अगाडी सार्ने उम्मेदवारका विषयमा बढी चासो हुन्छ । २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा उक्त क्षेत्रमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर राप्रपाका उम्मेदवार चुनाव लडेका थिए ।
चुनावी तालमेल गर्दा उक्त क्षेत्र राप्रपाको भागमा परेको थियो । राप्रपाले नेता ओमप्रकाश आजादलाई संसदको उम्मेदवार बनाएको थियो, तत्कालिन बामगठबन्धन (एमाले र माओवादी)का तर्फबाट नेता पशुपतिदयाल मिश्र सुर्य चिन्ह लिएर चुनाव लडेका थिए ।
यद्यपी उनले त्यतिबेला स्वतन्त्रको हैसियतमा सुर्य चिन्ह लिएर चुनाव लडेको प्रष्ट्याएका थिए । यसैगरी तत्कालिन संघिय समाजवादी पार्टीका तर्फबाट मोहम्मद ईस्तियाक राई प्रतिनिधी सभाको निर्वाचन लडेका थिए । राईले दुबै गठबन्धनका उम्मेदवारलाई एक्लैले पराजित गर्न सफल भए ।
२०७४ सालको भन्दा अहिले राजनीतिक परिस्थितीमा फेरबदल भइसकेको छ । चुनावमा बाम गठबन्धन गरेर पार्टी एकता समेत गरेका माओवादी र एमाले अलग भइसकेका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमती भइसकेको छ ।
पाँच दलिय गठबन्धन हुने निश्चित भएपछि बाँकेको क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारका विषयमा विभिन्न चासो र अड्कलबाजी सुरु हुन थालेको हो । जिल्लाको क्षेत्र नम्बर १ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट सांसदमा निर्वाचित भएका माओवादीका नेता महेश्वरजंग गहतराज अथक अहिले बहालवाला खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् ।
यस्तै क्षेत्र नम्बर २ बाट सोही निर्वाचनमा सांसद बनेका राई पनि बहालवाला भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् । क्षेत्र नम्बर ३ बाट बामगठबन्धनका तर्फबाट एमाले बाँकेका पुर्वजिल्ला अध्यक्ष नन्दलाल रोकाय सांसदमा निर्वाचित भएका थिए ।
उनी अहिले पनि सांसदको भुमिकामै छन् । केन्द्रिय स्तरमा सत्तारुढ पाँच दलबीच सहमती भइसकेपनि जिल्लामा भने यो गठबन्धन पासोका रुपमा रहेको देखिएको छ । विशेषगरी नेपाली कांग्रेसका जिल्ला स्तरका नेता, कार्यकर्ताहरु गठबन्धन गर्नुपर्ने पक्षमा देखिदैनन् । उनीहरु अधिकांसले गठबन्धन गर्नै परेको खण्डमा नेपाली कांग्रेसको अस्तित्व मेट्ने गरी गर्न नहुने सुझाव दिइरहेका छन् ।
नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु यतिबेला सामाजिक सञ्जालमा यसबारे आक्रोश पोखिरहेका छन् । सत्तारुढ दल बाहेक एमाले र राप्रपाले पनि कुन-कुन क्षेत्रमा क-कस्लाई उम्मेदवार बनाउँछन् भन्नेमा आम रुपमा चासो देखिएको छ ।